काठमाडौं। हिमाल दोलखा हाइड्रोपावर कम्पनीले १ बराबर ०.७५ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीले हाल कायम १ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजीको ७५ प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो। कम्पनीले उक्त हकप्रद सेयरको निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटललाई सेयर नियुक्त गरेको छ।
हकप्रद सेयर जारी गर्न बिक्री प्रबन्धक नियुक्त गर्दै हाइड्रोपावरको तर्फबाट अध्यक्ष रन्जना दाहाल र बिक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यमा १ करोड २० लाख कित्ता बिक्री गर्नेछ। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ६० करोड रुपैयाँ रहेको छ। हकप्रद जारी पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड पुग्ने छ।