काठमाडौं। ठेक्का निकाल्ने अन्तिम तयारी भएको दोलखाको लामाबगर–लाप्चे सुरुङमार्ग आयोजना सरकारको प्राथमिकतामा नपरेपछि होल्ड भएको छ। सडक विभाग मातहतको गुणस्तर तथा अनुसन्धान विकास केन्द्रले बिडिङ डकुमेन्ट तयार पारेर ठेक्का निकाल्ने तयारी गरेको थियो तर सरकारले बजेट नै कटौती गरेपछि सो योजना रोक्नु परेको हो।
एक बर्ष लगाएर सबै तयारी सकेका सो आयोजना ठेक्का निकाल्ने बेला हालको लागि होल्ड गर्न भनिएको कुरा केन्द्रका एक इन्जिनियरले बताएका छन्। उनका अनुसार पूर्व प्रधानमन्धी केपी शर्मा ओली सरकारले अघि बढाएको आयोजनालाई देउवा सरकारले पुन प्राथमिकिकरण गरेको थियो। तर सरकारले बजेट कटौति गरेपछि करिव २ हजार आयोजना होल्ड भएका छन्। त्यसमध्ये लामाबगर–लाप्चे सुरुङमार्ग पनि पारिएको छ। इन्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन इपीसी मोडलमा निर्माण अघि बढाउने भन्दै अर्थ मन्त्रालयसंग स्रोत सुनिश्चितता मागेको भएता पनि अर्थ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय दुवैले तत्काल रोक्न आयोजनालाइ भनेका छन्।
त्यस्तै उत्तरी नाका जोड्ने लामाबगर–लाप्चे सुरुङमार्ग निर्माणका लागि करिव साढे दुइ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। सो आयोजनाको बेसलाइन सर्भे हाइड्रो टनेलिङ एण्ड रिसर्च कम्पनीले गरेको छ।यस कम्पनीले ६ महिना लगाएर अध्ययन रिपोर्ट तयार पारेको थियो। सोही रिपोर्टका आधारमा निर्माण अघि बढाउन लागिएको बताइएको छ। करिव एक किलोमिटरको यो सुरुङमार्ग दुइ लेनको हुनेछ। माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको हेडवर्क्स नजिकै निर्माण हुने भनीएको उक्त सुरुङमार्ग तीन बर्षमा निर्माण गर्न सकिने अध्ययनले देखाएको छ। बेसलाइन सर्भेका आधारमा एक बर्षमा विस्तृत आयोजना प्रतिवेदन डिपिआर र दुइ बर्ष निर्माण सक्ने सक्ने योजना रहेको छ।
सरकारले भारतले नाकाबन्दी लगाएको बेला उत्तरतर्फका ६ नाका खोल्ने योजना बनाएको थियो जसमा लामाबगर– लाप्चे पनि परेका थियो। सडक विभागका अनुसार अहिले लामाबगरसम्म सडक संजाल पुगेको भएपनि लाप्चेतिर जाने ९ किमी अप्ठ्यारो भुगोल रहेका कारण ट्रयाक खोल्न सकिएको छैन। सो सुरुङमार्ग निर्माण गर्न सकिएमा उत्तरी नाका सहज हुने अपेक्षा राखिएको छ।