लमजुङ। बेमौसमी अविरल वर्षासँगै गएको बाढीपहिराले केही समयदेखि अवरुद्ध रहेको बेँसीशहर–चामे सडक पुनः सञ्चालनमा आएको छ। पहाडी र हिमाली जिल्ला जोड्ने यस सडकको विभिन्न स्थानमा बाढी पहिराले अवरुद्ध बनाएको थियो। सो सडक खुलाएसँगै हिजोदेखि सडकमा सवारी साधन पुनः सञ्चालनमा आएको डुम्रे बेँसीशहर चामे सडक योजना कार्यालय लमजुङका इञ्जिनीयरले बताएका छन्।
कात्तिकमा आएको बेमौसमी वर्षाले लमजुङ मनाङ जोड्ने एक मात्र सडकखण्डको खरखरे भीर, नियालोघारी, दाना क्यू, कोत्रो, तिमाङ खोला, तिमाङ झरनालगायत स्थानमा बाढीपहिराले सडक अवरुद्ध भएको थियो। तिमाङ झरना र खोलामा राखिएको काठे पुल बगाएको थियो भने अन्य स्थानमा बाढीपहिराले सडक बगाउनुका साथै ढुङ्गा माटोले अवरुद्ध बनाएको थियो। सबै स्थानको अवरोध हटाएर अन्तिममा तिमाङ झरनामा तीन दिन लगाएर काठे पुल राख्ने कार्य सम्पन्न भएसँगै सवारी सञ्चालनमा आएको हो।
अवरुद्ध भएको उक्त दुई स्थानमा काठेपुल राखिएको छ भने अन्य स्थानमा डोजरको सहायताले सडक खुलाइएको छ। सो सडक अवरुद्ध भएपछि दसैँ पर्व मनाएर रोजगारी, अध्ययन लगायत गन्तव्यमा फर्किन पाएका थिएनन्। मनाङमा आवश्यक ढुवानीका सामग्री, खाद्यान्न, लत्ताकपडा, औषधि लगायत सामग्री लैजान यतिबेला सडक सुचारु भएसँगै सहज भएको छ।
यो भन्दा अगाडी समेत दशैँ आउनु केही दिन अघिबाट मात्र सवारी सञ्चालनमा आएको थियो। तर फेरी बेमौसमी रुपमा कात्तिकमा अविरल वर्षासँगै आएको बाढीपहिराले सडक पुनःअवरुद्ध बनाएको थियो। यस सडकलाई फेरी मर्मत संभार गरेर सञ्चालनमा ल्याइएको छ।