बझाङ। बेमौसमी वर्षासँगै आएको बाढीले बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध भएपछि बैकल्पिक मार्गको खोजी सुरु गर्न थालिएको छ। दुई हप्तासम्म सडक सञ्चालनमा नआएपछि पानकोट गोलाइ सुतियाँ मालुमेला झनाना सडक र भाँडेबगर मेल्लेख नौरा चैनपुर सडक सञ्चालनमा ल्याउने तयारी सुरु गरिएको हो। सडक अवरुद्ध हुँदा त्यहाँका स्थानीय तथा यात्रुहरुलाई यात्रा गर्न सकस भएको छ।
त्यस्तै केदारस्युँ–१ नारूगौडा खोलामा रहेको चट्टानमा विस्फोटन गरेर सडक सञ्चालनमा ल्याइने र यी दुई बैकल्पिक बाटो प्रयोग गर्ने प्रयास भइरहेको छ। यस्तै छविसपाथिभेरा–१ जालेबगरमा तत्काल सडक सञ्चालनमा आउने संभव नभएपछि बैकल्पिक सडकको खोजी सुरु भएको हो। छबिसपाथिभेरा गाउँपालिकाले भाँडेबाट ब्याँसी, मेल्लेक हुदै सुवेडा जोड्ने सडक मर्मत गरिसकेको गाउँपालिका अध्यक्षले बताएका छन्। हाल जयपृथ्वी राजमार्ग बन्द भएपछि बझाङ्ग सदरमुकाम लगायत साना ठूला बजारमा तरकारी, इन्धन, खाद्यान्नको कालोबजारी हुनुका साथै चर्को मुल्य बृद्धि भएको छ। जसले गर्दा त्यहाँको स्थानीय मारमा परेका छन्।