म्याग्दी । राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय उपसमितिको टोलीले बेनी–जोमसोम–कोरला सडकको अनुगमन गरेको छ ।उपसमितिका सभापति अनिता देवकोटा, सदस्य नारायणकाजी श्रेष्ठ र इन्दिरादेवी गौतमसहित सचिवालयका दुई कर्मचारीको टोलीले उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको अनुगमन गरेको हो ।
चीनको सिमानामा रहेको कोरला नाका जोड्ने १८६ किलोमिटर दूरीको सडक निर्माण अवस्थाको बारेमा उनीहरुले जानकारी लिएका छन् । संसदीय टोलीले स्थलगत निरीक्षणका साथै आयोजनाका अधिकारी, जनप्रतिनिधि, स्थानीयवासीसँग छलफल र निर्माण व्यवसायी तथा प्राविधिकलाई निर्देशन दिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताए ।
अनुगमनपछि राष्ट्रियसभा सदस्य तथा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले २५ किलोमिटर दूरीको चराङ–छोसेर खण्डको सडक निर्माणमा भएको ढिलाइका बारेमा ध्यानाकर्षण भएको र सम्बन्धित निर्माण व्यवसायीलाई तीव्रता दिन निर्देशन दिएको बताए ।
आयोजना प्रमुख प्रजापतिले जोमसोम–कोरला खण्डको सातमध्ये छ वटा प्याकेज निर्माण सकिएको, जोमसोम–कागबेनी सडक कालोपत्रे हुन लागेको, बेनी–जोमसोम सडकको तेस्रो प्याकेज कैकुखोला–खन्ती खण्ड कालोपत्रे अन्तिम चरणमा रहेको र तीन वटा प्याकेजको काम भइरहेको जानकारी गराए ।