इलाम। ४ जिल्ल्को उत्तरपूर्वी क्षेत्रका लागि मेरुदण्डको रूपमा रहेको मेची राजमार्ग पछिल्लो विपत्तिसँगै मासिने क्रममा रहेको छ। अविरल वर्षापछिको विपत्तिका कारण राजमार्गको मर्मतका लागि करोडौं रुपैयाँ खर्च हुने अनुमान गरीएको छ।
गत असोज १६ गते इलामको धोबीधारा क्षेत्रमा मेची राजमार्गको आधा भाग अचानक भासिएको हो। हाल बाक्ला घर र साँघुरो सडक भएको इलाम बजार क्षेत्रबाट मेची राजमार्ग गुड्ने सवै सवारीसाधन चलिरहेका कारण जाम बढेको इलामका ट्राफिक प्रहरी प्रमुखले जानकारी गराएका छन्। साँघुरो सडक र क्षमताभन्दा ठूला सवारी गुडेकाले बजार क्षेत्रको सडक पनि क्षतविक्षत हुने क्रम निरन्तर नै छ। पहिरोको अस्थायी समाधान गरेर भए पनि राजमार्गलाई सञ्चालनमा ल्याउनुपर्ने इलाम उद्योग वाणिज्य संघका अध्यक्षले बताएका छन्।
त्यस्तै अविरल वर्षाका कारण माइखोलानजिक राजदुवाली, रोङको किटेनी, इलाम नगरपालिकाको बरवोटे, मलाते, देउमाई नगरपालिकाको रक्से राँके खण्डमा अत्यधिक अवरोध देखिएका छन्। तर, यत्ति धेरै विपत्ती आउँदा पनि सडक एक तर्फी रूपमा खुले पनि सामान्य पहिरोसमेत नहटाइँदा हाल दुर्घटनाको जोखिम बढेको छ।
झापाको चारआलीबाट ७७ किलोमिटर इलाम बजारसम्मको क्षेत्रमा ६० वटाभन्दा धेरै गोलाइ छन्। पहाडबीच नागवेली खनिएको राजमार्ग बनोटकै कारणले पासोको रुपमा परिणत हुँदै गएको छ। अप्ठेरो भूगोलमा रहेको राजमार्गमा क्षमताभन्दा धेरै भारवहन गर्ने गाडीका कारण समस्या थपिदैं आएको हो। तर, सामान्य अवरोध हटाउन पनि तीन तहका सरकारी संरचनाबीच समन्वय नहुँदा समस्या देखिएको हो। तत्काल समस्या समाधान नगरे राजमार्ग नै ठप्प हुने संभावना सिर्जना भएको छ।