काठमाडौं। नागढुंगा–मुग्लिन सडकखण्ड विस्तारका लागि विश्व बैंकको आर्थिक सहयोगमा ठेकदार कम्पनीको छनोट कात्तिक २५ गते हुने भएको छ। सडक विभागले प्रारम्भिक योग्यता पुगेको ठहर गरी छनोट गरेका कम्पनीको आर्थिक प्रस्ताव खोल्न लागेको हो।
नागढुंगा–नौबीसे र नौबिसे–मलेखु गरी दुई खण्डमा काम गर्न योग्य ठहर भएका कम्पनीले आर्थिक प्रस्तावमा प्रतिस्पर्धा गर्दैछन्। यी दुई प्याकेजमा ४२ कम्पनीले प्रारम्भिक योग्यताका लागि प्रतिस्पर्धा गरेकोमा योग्यता पूरा गरेका कम्पनीहरुको आर्थिक प्रस्ताव खोल्न लागिएको हो।
सडक विभागका उपमहानिर्देशक तथा नागढुंगा–मुग्लिन सडकखण्ड विस्तार परियोजनाका प्रमुख रामहरी पोखरेलका अनुसार आर्थिक प्रस्तावमा सफल भएको कम्पनी छनोट गरेर विकास साझेदार ‘विश्व बैंक’मा स्वीकृतिका लागि पठाइने छ।
उक्त सकडखण्ड विस्तार गरीसकेपछि ठाउँ र भौगोलिक अवस्थाअनुसार कतै चार, तीन र दुई लेनको हुनेछ। यो खण्डको ३६ किलोमिटर खण्ड तीन लेनको हुनेछ भने,बस्ती र बजार क्षेत्रको सडक चार लेनको हुनेछ।
उक्त सडकको पुरै खण्ड चार लेनमा विस्तार गर्न खोजिएको थियो। तर, मुआब्जा अत्याधिक तिर्नुपर्ने भएपछि मुग्लिन–नारायणगण्ढ सडकखण्डको जस्तै सडक बनाउने गरी विस्तारको काम हुन लागेको हो।