निर्माणाधीन नागढुंगा सुरुङमार्गको मुख्य सुरुङ ०७९ साउनसम्ममा छेडिने (ब्रेक थ्रू) भएको छ । ०७८ चैतभित्रमा अडिट टनेलहरू निर्माण सक्ने कार्ययोजना रहेको नागढुंगा सुरुङमार्ग निर्माण आयोजना प्रमुख नरेशमान शाक्यले जानकारी दिए।
अडिट र मुख्य सुरुङ गरी कुल पाँच हजार चार सय ९९ मिटर लम्बाइको सुरुङमार्ग खन्नुपर्नेछ। त्यसमध्ये २५ असोजसम्म एक हजार सात सय ६२ मिटर खनिसकिएको छ, आयोजना प्रमुख शाक्यले बताए।
उक्त आयोजनामा मुख्य सुरुङको लम्बाइ दुई हजार ६ सय ८८ मिटर रहेको छ। त्यसमध्ये हालसम्म पाँच सय ४१ मिटर सम्पन्न भएको छ। इभ्याकुएसन सुरुङ कुल दुई हजार पाँच सय ५७ मध्ये एक हजार ५७ र क्रस प्यासेज कुल एक सय २८ मिटरमध्ये ३८ मिटर खनिएको छ।
आयोजनाको भौतिक प्रगति २५ प्रतिशत पुगेको छ। ०७७ पुसदेखि औपचारिक निर्माण थालिएको आयोजनाको मोबिलाइजेसन पेस्कीसमेत गरेर करिब ३० प्रतिशत आर्थिक प्रगति भएको छ । निषेधाज्ञामा कामको गति घटेको भए पनि अहिले पुनः गति लिएको आयोजना प्रमुख नरेशमान शाक्यले जानकारी दिए।
उक्त आयोजनाको कुल लागत २२ अर्ब रुपैयाँ पुग्ने अनुमान छ। थालनीमा २० अर्ब ६० करोड रुपैयाँ हुने अनुमान थियो । तर, जापानिज येन बलियो भएका कारण बढेर २२ अर्ब १४ करोड रुपैयाँ पुगेको हो।
मुआब्जा र क्षतिपूर्तिसमेत लगिसकेको अवस्थामा पनि पूर्वक्षेत्रका स्थानीय व्यक्तिले घरहरू नभत्काउँदा सडक निर्माणमा कठिनाइ भइरहेको आयोजना कार्यालयले जानकारी दिएको छ।आयोजना प्रमुख शाक्यका अनुसार स्थानीयवासीसँग छलफल गरी सकारात्मक निष्कर्ष निस्किएको भए तापनि केही संरचनाहरू भत्काउन बाँकी रहेको छ।