अर्घाखाँची। कपिलवस्तुबाट अर्घाखाँची हुँदै बाग्लुङको ढोरपाटन जोड्ने सडकमा विवाद उत्पन्न हुँदा निर्माणको काम अलपत्र परेको छ। सन्धिखर्कस्थित चुत्राबेशी बजारमा बाटो अघि बढाउने निकास नदिएका कारण राष्ट्रिय योजनामा परेको सो सडक निर्माण अवरुद्ध बनेको हो। १२ वर्षअघिदेखि निर्माण सुरु गरिएको सालझण्डी सन्धिखर्क ढोरपाटन सडक योजनाले सन्धिखर्कमा विवाद हुँदा निर्माण कार्यले गति लिन सकिरहेको छैन।
५ सय मिटर क्षेत्रफलमा रहेका घरघडेरी मासिने भन्दै स्थानीयले चर्को विरोध जनाएपछि काम अगाडि बढाउन दिएका थिएनन्। हाल घरघडेरी वालालाइ नै बाटोको निकास नहुँदा थप चिन्ता बढ्दै गएको छ। न त घर बनाउन सकेका छन् न त घडेरी बेच्न नै सकेका छन् ।
चुत्रावेशी बजारमा ट्रयाक खोल्न सरकारी पक्ष र स्थानीयबीच पटकपटक भएका छलफल र बैठक बिना निष्कर्ष टुंगिएको छ। अहिले पीडितहरुले उचित क्षतिपुर्तिको व्यवस्था मिलाएर काम सुरु गर्दा राम्रो हुने र छिटोभन्दा छिटो यसको समधान भएमा स्थानीय खुशी हुने माग गर्दैै आएको ढोरपाटन सडक संघर्ष समितिका पूर्व अध्यक्षको भनाइ रहेको छ। पीडीतलाई क्षतिपूर्तिको व्यवस्था मिलाएर काम सुरु गर्दा राम्रो हुने र छिटो भन्दा छिटो यसको समाधान भएमा खुशी हुने उनले बताएका छन्।
बाग्लुंगको ढोरपाटनसम्म सडकको लम्बाइ करिव १ सय ९७ किलोमिटर रहेको छ। डिपिआर अनुसार सडक निर्माणको लागि कुल ७ अर्ब ५० करोड लगानीमा सडक सम्पन्न हुने भनिएको सडकको निर्माण हाल सम्म २ अर्ब ५० करोडको काम भैसकेको छ। ढोरपाटनसम्म ट्रयाक खोल्ने काम सकिए पनि सन्धिखर्कमा उत्पन्न विवादले सडक निर्माणमा अवरोध खडा गरेको छ। यहाँको राजनीतिक दलको सहमतीमा स्थानीय संग समन्वय भएमा चुत्रावेशी बजारमा देखिएकोे समस्या छिट्टै निष्कर्षमा पुग्ने आयोजना प्रमुखले जानकारी गराएका छन्।
सो आयोजनाको हाल सम्म ९ किलोमिटर सडक पिच भएको छ। यो आर्थिक वर्षमा बलेबाङ देखि फुदबाङ सम्म ९ किलोमिटर र पाल्पाको कन्चनखोलादेखी खुर्साने सम्म १३ किमी पिच हुने बताइएको छ भने बागलुङको बुर्तिबाङ क्षेत्रमा २२ किलोमिटर बहुवर्षिय ग्राबेलको ठेक्का भएको छ। यस्तै खुर्साने देखि मैदान सम्म पनि बहुवर्षिय योजनामा काम अगाडी बढेको जनाएको छ। सो सडक निर्माण भएपश्चात अर्घाखाँची लगायतका जिल्लाको पर्यटन प्रवर्द्धन र आवतजावतमा सहज हुने अधिकांशको विश्वास रहेको छ।