काठमाडौं। कात्तिक पहिलो साता बेमौसमी वर्षासँगै आएको बाढीका कारण अवरुद्ध सडकमध्ये अझै पनि ५ सडक खुल्न सकेका छैनन्। गत असोज ३१ देखि कात्तिक ३ गतेसम्म परेको वर्षाका कारण १२ सडक अवरुद्ध भएकामा सात वटा खुलिसकेका छन्।
बेमौसमी वर्षाले अवरुद्ध भएका खुल्न बाँकी रहेका सडकमा मनाङको डुम्रे–बेँशीसहर–चामे सडक रहेको छ। सो सडक हाल पनि निगालाघारी, खोत्रो र दानाक्यमा खुल्न सकेको छैन। यी सडकहरु ३७, ४० र ४९ चेनेजमा रहेका छन्। अवरुद्ध सडकमा बझाङमा खोड्पे– चैनपुर सडकको जालिबगर र नारुगौणा रहेका छन्। त्यस्तै धनगढी–सहजपुर–वुडर–स्याउले र सतबाँझ–थाकतोली–दार्चुला–तिङ्कर सडक दार्चुलाको धिमनको तीन किमी वर किम्तडीमा पनि सडक अवरुद्ध रहेको छ।
पछिल्लो समय वर्षासँगै आएको बाढीका कारण अवरुद्धमध्ये कतिपय सडक तत्कालका लागि खुलाइएको भए पनि पूर्णरुपमा सञ्चालनमा आउन सकेका छैनन्। राप्ती राजमार्गको अरिङगलफेदी सडक, वर्दिवास–सिन्धुली–खुर्कोट–धुलिखेल सडकको कमेरे फाँट, सुर्खेत तल्लो डुङ्ग्रेश्वर–सातखम्बा–दुल्लु–पिपलकोट– खुलालु– मान्म र नाग्मा–जुम्ला सडकको विभिन्न खण्ड आसिंक रुपमा मात्रै सञ्चालनमा रहेका छन्।