बझाङ। बेमौसमी वर्षाका कारण दुई साता पुग्न लाग्दा पनि बझाङको जयपृथ्वी राजमार्ग अझै सुचारु हुन सकेको छैन। राजमार्गको विभिन्न स्थानमा बाढीले सडक बगाउँदा आवतजावतमा समस्या भएको छ।
सेती नदीले छबिसपाथीभेरा गाउँपालिकाको जाल्याबगर र केदास्युँको नारुगौडामा सडक भत्काउँदा यातायातका साधन चल्न सकेका छनैन्। यातायातका साधन नचल्दा धनगढी, महेन्द्रनगर र नेपालगन्जबाट औषधि, खाद्यान्न, फलफूल, तरकारी तथा दैनिक उपभोग्य सामान बोकेका गाडी सदरमुकाम भित्रिन नसके पछि बझाङमा दैनिक उपभोग्य वस्तुको अभाव भएको हो।
बुङगल नगरपालिकाका रामबहादुर जाग्रीका अनुसार यातायातका साधन चल्न नसकेपछि जिल्लामा दैनिक उपभोग्य वस्तुका साथै फलफूल र तरकारीको अभाव हुनुका साथै मूल्य वृद्धि भएको हो।बजारमा खाना पकाउने ग्यास समेत पाइन छाडेको छ। २५० मा पाइने पिठोको तीन सय तिर्नुपरेको छ। ग्रामीण सडक पनि बाढीले बगाएपछि स्थानीयस्तरमा उत्पादन भएका तरकारी बाटो नहुँदा बजारमा आएको छैन। बजारमा सामान नपाएको उपभोक्ताको गुनासो छ।
पहिरोले जयपृथ्वी राजमार्ग बन्द भएपछि ग्यासको अभाव भएको छ। सदरमुकाम चैनपुरमा होटल व्यवसाय गरिरहेका व्यवसायी निरज बमले होटलमा ग्यास सकिएको तीन दिन भएको र बजारमा ग्यास खोज्दा नपाइएको दुःखेसो व्यक्त गरे। राजमार्ग अवरुद हुँदा बजारमा इन्धन अभाव भई मूल्य बढेको छ। इन्धन अभाव देखाएर विभिन्न बहाना बनाई बढी मूल्य लिई खुलेयाम बिक्री वितरण हुने गरेको भए पनि सरोकारवाला निकायले अनुगमन तथा नियमनमा कुनै चासो नदिएको उपभोक्ताको गुनासो छ।
दुई साता अघिदेखि गएको बाढीपहिरोले सडक खुल्न नसक्दा यहाँका उपभोक्ता मर्कामा परेका छन्। प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीका अनुसार सेती नदीको बाढीले सडकको डिल नै भत्काएकाले सडक तत्कालै सञ्चालन गर्न सकिने अवस्था छैन। वर्षा रोकिएसँंगै राजमार्गका विभिन्न ठाउँमा गएको पहिरो पन्छाउने काम गरेका थियौं। केदारस्युँको देउरासम्म आंशिक रूपमा सडक सञ्चालनमा आएको छ। तर जाल्याबगर र नारुगौडामा सडक पूर्णरूपमा बगाएकाले तत्कालै सुचारु हुनसक्ने अवस्था छैन। जाल्याबगरमा करिब तीन सय मिटर सडक सेतीले बगाएको छ। नारुगौडामा बलास्टिङ गरेर सञ्चालनमा ल्याउने तयारी रहेको अधिकारीले बताए।