काठमाडौं। ७ करोड लागतमा निर्माणाधीन अरनिको राजमार्ग अन्तर्गत कोटेश्वर–जडिबुटी खण्डको दायाँ बायाँ दुवैतर्फ सडक विस्तार कार्य ७० प्रतिशत पूरा भएको छ। कोटेश्वरमा हुने सवारी चापलाई कम गर्न सरकारले कोटेश्वर-जडिबुटी सडक खण्ड ८ लेनमा विस्तार गर्ने काम थालेकोमा ७० प्रतिशत पूरा भएको हो।
आगामी माघसम्ममा सो खण्डको सडक निर्माणको काम पूरा गर्ने गरी काम भइरहेको सडक विभागले जनाएको छ। त्यस्तै सडक विस्तार कार्य सम्पन्न भएपछि घण्टौसम्म जाममा बस्नुपर्ने बाँध्यताको अन्त्य हुने साथै त्यहाँ प्रवेश गर्ने सवारीको संख्या पनि ४० प्रतिशतभन्दा धेरै कटौती गर्ने योजना रहेको छ। हाल सो सडक खण्डमा दक्षिणतिर ३ लेन र उत्तरतिर १ लेन थप गर्दै सडक फराकिलो बनाउने योजना अनुरुप काम भइरहेको छ।
सो विस्तारित सडक खण्डको सव बेसको काम पूरा भएर रेलिङ, ढलको काम पूरा भएको र अब बेसको काम पूरा गरी पीच गरिने सडक डिभिजन कार्यालय काठमाडौंका इन्जिनियरले जानकारी दिएका छन्। विस्तारित सडक निर्माण सम्पन्न भएपछि सो सडक खण्डमा ४ लेन थप भएर ८ लेनको हुने छ। यसले गर्दा काठमाडौंबाट-भक्तपुरबाट ललितपुर र काठमाडौं आउने सवारीका लागि सहज हुने भएको छ।
सडक विभागअन्तर्गत काठमाडौं डिभिजन कार्यालयले सडक विस्तारको काम सुरु भएको हो। २०७७ को माघबाट काम सुरु गरेर असारमा सम्पन्न गर्ने लक्ष्य भएपनि कोभिड–१९ का कारण समयमा सो खण्ड निर्माण सम्पन्न नहुने भएपछि माघसम्मको समय थप गरेको थियो। सरकारले कोटेश्वर-जडिबुटी सडकमा देखिएको दैनिक जाम समाधानका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाएर अघि बढेको थियो। सोही अनुसार अल्पकालीन अन्र्तगत डेलिकेटेड लेन बनाउनको लागि सडक विस्तारको काम थालेको हो।
दीर्घकालीन योजनाका लागि जापान सहयोग नियोग जाइका को सहयोगमा अण्डरपास निर्माण गर्ने गरी अध्ययन गरीरहेको छ। उक्त विस्तारित सडक थप भएपछि करिब ४० प्रतिशत जाम सडक निर्माणपछि हट्ने अनुमान गरिएको छ। भक्तपुर पेप्सीकोलाबाट बालकुमारीतर्फ जाने र कोटेश्वरबाट उत्तरतर्फ जाने डेडिकेटेड लाइन हुने भएपछि सवारी जाममा पर्नै छैन्। कोटेश्वर-जडिबुटी खण्डको सडक निर्माणको काम टुण्डि सुसान्त जेभीले गरिरहेको छ।