काठमाडौं। ललितपुर–३ बाट सांसद बनेकी डाक्टर तोशिमा कार्कीले आफ्नो क्षेत्रको भौतिक पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राख्दै काम शुरु गरेकी छन्। प्रतिनिधिसभा सदस्यमा निर्वाचित कार्कीले देशभरबाट निर्वाचन परिणाम आइनसक्दै काम गर्न शुरु गरेकी हुन्।
उनले पहिलो मिशनमा नख्खु भैँसीपाटी सडकलाई लिएर काम शुरु गरेको बताएकी छन्। उनले सडक विस्तार आयोजना प्रमुख कृष्ण ओझासँग प्रत्यक्ष भेटेर नख्खु भैंसीपाटी सडकबारेमा छलफल गरेको जानकारी दिएकी छन्। डा.कार्कीले सडक निर्माणमा भएको ढिलासुस्ती, सम्झौता बारेमा जानकारी लिएको र निर्माण व्यवसायीसँग टेलिफोन सम्पर्क गरी काममा ढिलासुस्ती नगर्न आग्रह गरेको बताएकी छन्।
अब अर्को चरणमा भने स्थलगत भ्रमण गर्ने, निरन्तर फलोअप, अपडेट र समन्वयको लागी आफ्नो टिमबाट आयोजना स्थल मै मानिस खटाउने उनको भनाइ छ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की ३१ हजार १३६ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन्।
निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका अमृत खड्कालाई १८ हजार १७३ मतान्तरले पछि पार्दै कार्कीले पहिलोपटक प्रतिनिधिसभाको यात्रा तय गरेकी हुन् । खड्काले १२ हजार ९६३ मत प्राप्त गरेका छन्।
बहालवाला उर्जामन्त्री पम्फा भुसाल भने तेस्रो भइन् । उनले ८ हजार ७६९ मत प्राप्त गरिन् । भुसाल गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार बनेकी थिइन् ।
