काठमाडौं। बुटवलको सडकमा महिनौंदेखि यात्री तथा स्थानीयवासीले सास्ती व्यहोर्नु परेको छ। बुटवलको चौराहादेखि गोलपार्कसम्मको साढे ३ किलोमिटर सडक स्तरोन्नति समयमै नहुँदा वर्षामा हिलो र घाम लाग्दा धुलोको कारण स्थानीयले सास्ती झेल्दै आएका छन्। ठाउँ ठाउँमा परेको खाल्टाखुल्टीले चालक तथा यात्रीलाई यस सडकखण्डमा यात्रा गर्न निकै सास्ती हुने गरेको छ। निर्माणको नाममा कतिपय ठाउँमा सडक भत्काएर अलपत्र छाड्दा लामो समयदेखि चालक र यात्रीले दुःख पाउँदै आएका छन्।
लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलको बजार क्षेत्रकै सडकको यस्तो दुर्गतिले प्रदेशमा विकास निर्माण कस्तो होला भन्ने नमूना नै देखाएको स्थानीयवासीले बताएका छन्। बुटवलको ज्योतिनगर र लक्ष्मीनगरमा साउनमा आएको पहिरोले बगाएको माटो बुटवलको सडकसम्म आइपुग्दा अझ सास्ती हुने गरेको उनीहरुको भनाइ रहेको छ। बुटवलको भित्री सडक कालिननगर देखि पुुरानो बसपार्कसम्मको सडकको अवस्था पनि उस्तै रहेकोले त्यहाँ ई–रिक्सा र मोटरसाइकल चलाउन निकै सास्ती हुने गरेको चालकहरुको गुनासो रहेको छ।
व्यापारिक मार्ग विस्तार आयोजना बेलहिया बुटवल सडक आयोजनाले समयमा निर्माण नसक्दा यस्तो समस्या भएको सरोकारवाला जनाएका छन्। खाल्टाखुल्टीका कारण दिनहुँजसो सडक दुर्घटना हुने गरेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षकले बताएका छन्। त्यस्तै बुटवल राजमार्ग चौराहादेखि चिडियाखोलासम्म साढे ३ किलोमिटर सडक विस्तार आयोजनाको सम्झौता अनुसार २०७६ असोज १२ गते निर्माण सम्पन्न गर्नुपर्ने भएपनि बीचमा सडकको जग्गाभित्र घर भएकाहरूले पटक–पटक अदालतमा मुद्दा दायर गरेकाले निर्माण कार्य अघि बढ्न सकेको थिएन। गत माघदेखि अदालतले सडक विस्तारका लागि बाटो खोले पनि निर्माण कम्पनीको लापरवाहीले काममा ढिला हुँदै आएको हो।
उक्त सडक स्तरोन्नतिको जिम्मा पाएको कम्पनी द कञ्चनजंगा बिरुवा जेभी काठमाडौंले समयमा काम नगर्दा स्थानीयवासी र यात्रीले सास्ती खेप्नु परेको हो। सडक विस्तार आयोजनाका प्रमुखले हाल निर्माण कम्पनीले काम सुरु गरेको र उनले छिटो निर्माण सम्पन्न गर्न पटक पटक ताकेता गरेको पनि जानकारी दिएका छन्। सो सडक स्तरोन्नतिका लागि तेस्रो पटक २०७९ साल असार ३२ गते निर्माण सम्पन्न गर्ने गरी म्याद थप भएको छ। सो सडक स्तरोन्नतिका लागि ४७ करोड २७ लाखमा निर्माणको ठेक्का सम्झौता भएको हो।