विराटनगर। सडकको भारवहन क्षमताभन्दा दोब्बर बढी भार बोकेका गाडी निर्बाध रूपमा गुड्दा रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक (कोशी राजमार्ग) निर्माण सम्पन्न नहुँदै भासिएको छ। ‘अस्फाल्ट’ प्रविधिको कालोपत्र गरिएको यो सडकको भारवहन क्षमता १० टन हो। तर २० टनसम्म बोकेका ढुवानीका साधन गुड्दा रानीदेखि नेमुवासम्मको तीन लेन सडक खण्डको पश्चिम क्षेत्र भासिएको छ।
सीमावर्ती रानीदखि धरानको तीनकुनेसम्मको ४९ किलोमिटर सडक ६ लेनमा परिणत गर्न सरकारले १० अर्ब ९८ करोडको लागतमा २०६९÷७० देखि काम शुरू गरेको थियो। अहिले रानीदेखि सुनसरीको तरहरासम्मको ३४ किलोमिटरमध्ये ३२ किलोमिटर क्षेत्रमा कालोपत्रको काम सकिएको छ । त्यसमध्ये दुहवीको २ किलोमिटर क्षेत्रमा काम शुरू नै हुन सकेको छैन । यो खण्डमा विभिन्न १७ ओटा निर्माण कम्पनीले काम गरेका छन् ।
रानीदेखि तरहरासम्मको काम आगामी चैतसम्ममा सक्नुपर्ने म्याद छ। तरहरादेखि धरानको तीनकुनेसम्मको साढे ९ किलोमिटरको काम भर्खरै शुरू भएको छ। उक्त खण्डको काम २०८० सम्ममा सक्नुपर्ने म्याद छ। निर्माणाधीन अवस्थामै रहेको कोशी राजमार्ग, रानी–धरान सडक खण्ड अन्तर्गत विराटनगर क्षेत्रमा कालोपत्र भासिएको छ। भासिएको सडकमै सवारीसाधन गुड्दा छुट्टै ट्रयाक बनेको छ।
आयोजनाका इन्जिनियर उपेन्द्र दासका अनुसार भारवहन क्षमताभन्दा दोब्बर वजन बोकेका मालवाहक गाडी गुडेकाले सडक भासिएको को हो। ६ लेन सडकको बीच भागमा डिभाइडर राखेर दायाँ–बायाँ ३–३ लेनमा विभाजन गरिएको छ। त्यसमध्ये नालातर्फको एक लेन पार्किङमा प्रयोग गरिएको छ। त्यसबाहेक एक लेनमा साना र अर्को लेनमा ठूला सवारीसाधन गुड्दा बीच भागको कालोपत्र भासिएको आयोजनाका प्राविधिकहरु बताउछन्।
मोरङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्र खड्काका अनुसार भन्सारबाट मालवस्तु बोकेर छुटेका सवारीसाधनलाई १५ किलोमिटर दूरीसम्म हिँड्न दिनू भन्ने गृह मन्त्रालयको आदेशका कारण जतिसुकै लोड बोकेका ढुवानीका साधनलाई यो सडकमा गुड्न दिइएको हो। ६ लेन सडकमा पार्किङ निषेध गरिएको दाबी गर्दै खड्काले भने, सर्भिस लेनको अभावमा ठूला मालवाहक सवारी एउटै लेनमा गुड्नुपर्ने अवस्थाका कारण सडक भासिएको हो।