काठमाडौं। दुई हप्तादेखि अवरुद्ध कर्णाली करिडोरको सिमकोट–खार्पु सडकखण्ड सञ्चालनमा आउन सकेको छैन। अविरल वर्षाले ठाउँठाउँमा पहिरो जाँदा सडक दुई हप्तादेखि अवरुद्ध भएको हो। सडक अवरुद्ध हुँदा सिमकोट–खार्पु खण्डमा साना बोलेरो जिपहरू दुई हप्तादेखि बन्द भएका छन्।
चंखेली गाउँपालिका–५ का स्थानीय जसिलाल तामाङका अनुसार सडक अवरुद्ध भएसँगै स्थानीयलाई आवतजावतमा समस्या भएको छ। याङचुदेखि सिमकोटसम्म १० देखि १२ स्थानमा पहिरोले सडक अवरुद्ध भएको तामाङले बताए। दुई हप्ता बितिसक्दा समेत सरोकारवाला निकायले चासो नदेखाउँदा आवतजावत गर्न समस्या भएको भन्दै स्थानीयले गुनासो व्यक्त गरेका छन्।
पहिरो पन्छाउने काममा ढिलासुस्ती हुँदा सिमकोट–खार्पु १३ किलोमिटर सडकमा यात्रुहरू सास्ति भोग्न बाध्य छन्। सिमकोटदेखि हिल्सासम्म सडकको पहिरो पन्छाउने जिम्मा हिल्सा–सिमकोट सडक योजनाले पाएको छ। ९० किलोमिटर सडकको पहिरो पन्छाउने काम सुरू गरिसकेको हिल्सा सिमकोट सडक योजना प्रमुख विसुन दास लामाले जानकारी दिए।