काठमाडाैं। नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पूर्वाधारको अभावमा विद्युत् प्रयोग गर्न नसकिएको बताएका छन्।
फिन इलेक्ट्रो टेक(२०२२ प्रदर्शनीको उद्घाटन कार्यक्रममा बोल्दै उनले विद्युत् उत्पादन गर्ने कम्पनीहरूले यस क्षेत्रमा गरेको अर्बौ लगानी बचाउन सरकारसँग आग्रह गरे।
“पूर्वाधारको अभावमा विद्युत् प्रयोग गर्न सकिएको छैन । अर्बौँ लगानीका आयोजनाको पिपिए हुनसकेको छैन”, उनले भने ।
कार्यक्रममा बोल्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी दिनमा विद्युत् खपत बढ्दै जाँदा विद्युत्सम्बन्धी सामग्रीको बजार पनि बढ्ने बताए। भोलिका दिनमा १५ हजार मेगावाट विद्युत् खपत गर्न सकियो भने विद्युतीय सामग्रीसम्बन्धित बजारको पनि सुनिश्चितता हुने उनको भनाइ छ ।
“बर्खायाममा विद्युत् निर्यात हुनु हाम्रो सफलता होइन, विद्युत् खपतबाटै समृद्धि हुन्छ । तर खपत नभएको विद्युत् खेर फाल्नुभन्दा निर्यात गर्नुपर्छ”, उनले भने।
‘नेपालको समृद्धि, ऊर्जा खपत अभिवृद्धि’ नारासहित फिन इलेक्ट्रो टेक २०२२ प्रदर्शनी आजदेखि सुरु भएको हो । प्रदर्शनी मङ्सिर २५ गतेसम्म चल्नेछ ।