धनगढी। छ लेन सडकका कारण हुने डुबान हटाउन धनगढी उपमहानगरपालिकाले संघीय सरकारसँग बजेट माग गरेको छ। डुबान समस्या समाधानका लागि डिपिआएर अनुसार काम सुरू गर्न उपमहानगरले एक अर्ब ४५ करोड रुपैयाँ माग गरेको हो।
वडा नम्बर १३ को उत्तरी सिमानादेखि मोहनापुलसम्म वडा नम्बर २, ३ र ४ समेतमा छ लेन सडक दायाँ बायाँ डुबान समस्या समाधानका लागि डिपिआएर तयार भएको छ।
तयार गरिएको विस्तृत परियोजना प्रतिवेदनको अन्तिम प्रतिवेदन महाकाली पुल योजना कार्यालय कञ्चनपुरबाट धनगढी उपमहानगरपालिकाले प्राप्त गरेको मेयर गोपाल हमालले जानकारी दिए।
साथै, प्रारम्भिक प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आवश्यक बजेटका लागि पेस गरिएको उनले जानकारी दिए।
यसअघि वडा नम्बर १ को कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोकसम्मको मुख्य सडक फराकिलो गर्ने कामका लागि उपमहानगरपालिकाले प्रदेश सरकारसँग बजेट माग गरेको थियो।
सोही अनुसार प्रदेश सरकारले साठी करोड बजेट विनियोजन गरिदिएको छ।
धनगढी उपमहानगरपालिकाले कैलाली पुलदेखि क्याम्पसरोडसम्मको २.३ किलोमिटर सडक चौडा पार्ने काम सुरू गरिसकेको छ।