म्याग्दी । बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेमा पहिरोले भासिएको ठाउँमा डाइभर्सन (वैकल्पिक) सडक निर्माण गरिएको छ। गत कात्तिक पहिलो साता परेको बेमौसमी वर्षाका कारण गएको पहिरोले भासिएका ठाउँमा वैकल्पिक सडक निर्माण गरिएको हो ।
बेनी–जोमसोम–कोरला सडक आयोजनाले वैकल्पिक सडक निर्माण गरेको हो ।सडक भासिएर साँघुरिदा सवारी साधन आवतजावत प्रभावित र दुर्घटनाको जोखिम बढेकाले नयाँ मार्ग खोलिएको आयोजना प्रमुख जगत प्रजापतिले बताए।
नयाँ मार्ग निर्माणका लागि ठेकेदार कम्पनी शर्मा–गजुरमुखीको दुई वटा स्काभेटर र एक वटा व्याकुहोलोडर परिचालन गरिएको जनाइएको छ।
भासिएको भन्दा माथितर्फ नयाँ सडक निर्माण भएपछि साँघुरो र उकालो सडकमा गाडी फसेर यात्रु घण्टौ जाममा बस्नुपर्ने समस्या हटेको बेनी जोमसोम कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए।