काठमाडौं। मध्यपहाडी लोकमार्गअन्तर्गत चखेवाभञ्ज्याङ–दिक्तेल सडक खण्डकै पंखु खोलाको पक्की पुलको पनि ठेक्का सम्झौता तोड्ने प्रकृया सुरु भएको छ। सम्झौता म्याद नाघेको चार वर्ष बित्दा पनि ठेकेदार कम्पनी सिरुवा कन्ट्रक्सन प्रालिले पुलको काम नगरेपछि ठेक्का तोड्न सडक विभाग समक्ष सिफारिस गरिएको हो।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङ र लामीडाँडा जोड्ने १५ मिटर लम्बाई भएको पुलको दुईतिरको पिलर ठड्याउने बाहेकका काम भएको छैन।
पंखु खोला पुल दुई करोड २९ लाखमा पूरा गर्नेगरी सिरुवा कन्ट्रक्सनले ७ असोज ०७२ मा ठेक्का सम्झौता गरेको थियो। ०७५ साल असार मसान्तमै सम्पन्न गर्नुपर्ने पुलको काम हालसम्म ३९.८४ प्रतिशत मात्र सकिएको छ।
पंखु खोला पुलको दोश्रोपल्ट थप भएको म्याद पनि असार ०७७ मै सकिएको थियो । पुलको काम पूरा नहुँदा पिलरको रड खियाले खाइसकेको छ । पुल निर्माण अलपत्र परेपछि आयोजनाले सम्पर्कमा आउन भन्दै २०७६ सालमा १५ दिने सूचना प्रकाशित गरेको थियो ।
मध्यपहाडी लोकमार्गकै दिक्तेल–चखेवाभञ्ज्याङ खण्डमा पर्ने छेपे खोलाको पुल निर्माणाधिन अवस्थामा छ । सगरमाथारसजिव जेभीले १३ जेठ ०८० मा सम्पन्न गर्नेगरी १४ मंसिर ०७८ मा ठेक्का लिएको हो ।
हालसम्म १२.११ प्रतिशत वित्तीय प्रगति भएको छ। यस्तै, केएम इन्जिनियर्स विल्डर्स प्रालिले २१ असार ०८१ सम्ममा सम्पन्न गर्नेगरी २२ असार ०७९ मा छेपे खोला र मेवा खोला पुलको ठेक्का सम्झौता गरेको छ ।
मेवा खोला पुलको डिजाइन स्वीकृत भइसकेको तथा भालु खोलाको पुलको डिजाइन स्वीकृतिको चरणमा रहेको कार्यालयले जनाएको छ ।