काठमाडौं। सूर्यविनायक-धुलिखेल सडक विस्तार आयोजना अन्तर्गत रहेको दोस्रो खण्ड सूर्यविनायक–साँगाको ठेक्का लागेको छ। गत कात्तिकमा सडक विस्तार गर्न ठेक्का आह्वान गरिएको यस खण्डको ठेक्का लागेको हो।
यसको ठेक्का जेभीका रुपमा आशिष/ कुमार श्रेष्ठ/ बन्दन जेभीले ठेक्का पाएको छ। यस खण्ड विस्तार गर्न ३ अर्ब ८८ करोड ९३ लाख ९६ हजार रुपैयाँ लाग्ने भएको छ।
यस ठेक्कामा ३ वटा जेभीसहितका निर्माण कम्पनीहरु प्राविधिक रुपमा पास भएका थिए। जसमा आशिष/कुमार श्रेष्ठ/बन्दन भागवती जेभी, स्वछन्द/ एपेक्स/ शक्ति जेभी र कालिका कन्स्ट्रक्स आर्थिक प्रस्ताव पेष गर्न सक्षम भएका थिए। यसमा आशिष/ कुमार श्रेष्ठ/ बन्दन भागवती जेभीले सबैभन्दा कम कबोल गरेकाले ठेक्का पाएको आयोजनाले जनाएको छ।
यस आयोजनाको पहिलो खण्ड साँगा–धुलिखेल सडक विस्तार गर्न ४ अर्ब ५६ करोड रुपैयाँ लागतमा ठेक्का लागिसकेको छ। यसको ठेक्का लामा कन्स्ट्रक्सन कम्पनीले पाएको हो। अहिले उक्त ठेक्का सम्झौताको चरणमा रहेको आयोजनाले जनाएको छ।
प्रतिवेदन अनुसार सूर्यविनायकदेखि साँगासम्मको सडक विस्तार गर्न साढे चार अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो। त्यही अनुसार आयोजनाले ठेक्का आह्वान गरेको थियो। अब यस खण्डको ठेक्का पाउने निर्माण व्यवसायीले छिट्टै सम्झौता गर्ने आयोजनाले जनाएको छ।