म्याग्दी । बेनी नगरपालिका–७ मा चन्दा संकलनबाटै सभाहल निर्माण गरिएको छ । नेपाल भाषा मंकाःखल म्याग्दीले सामुदायिक प्रयोजनका लागि आठ सय जना क्षमताको सभाहल निर्माण गरेको हो ।
३५ लाख रुपैयाँ चन्दा सङ्कलन गरेर सभाहल निर्माण गरिएको मंकाःखलका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए । उनले संस्थाका पदाधिकारी र सदस्यबाट जुटाएको रकमले भवन ठड्याएको बताए ।
झण्डै २९ आना क्षेत्रफलको जग्गामा सभाहल र शौचालय निर्माण गरिएको छ । सभाहल परिसरमा पर्खाल लगाएर घेराउ गरिएको छ । रंगरोगन, फर्निचर, बिजुली, पानी जडानलगायत काम बाँकी छ । निर्माणको काम गत असारमा थालिएको हो । आगामी पुसभित्र सबै काम सम्पन्न हुने श्रेष्ठले बताए ।