धनुषा । हुलाकी राजमार्ग समयमै सम्पन्न नभएको भन्दै विरोध स्वरुप स्थानीयले आन्दोलन शुरु गरेका छन् । जनकपुरको कदम चोकदेखि सिरहाको कमला पुल जोड्ने खण्ड समयमै सम्पन्न नभएपछि स्थानीयबासीले निर्माण कम्पनीविरुद्ध आन्दोलन गरेका हुन् ।
निडक निर्माण समयमै नहुँदा धूलो र हिलोका कारण आवातजावतमा समस्या भएपछि सोमबार जनकपुरधाम उपमहानगरपालिका–१८ भोइलका स्थानीय निर्माण कम्पनी र सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका हुन् । प्रदेशका अस्थायी राजधानी जनकपुरधाम जोड्ने मूल सडकको रूपमा रहेको हुलाकी सडकअन्तर्गत उक्त खण्ड निर्माण हुननसक्दा त्यहाँको एक सय मिटरभन्दा बढी सडक वर्षौदेखि वर्खामा हिलाम्मे र हिउँदमा धूलाम्मे हुने गरेको छ ।
निर्माण कम्पनी, हुलाकी राजमार्ग आयोजना र जनकपुरधाम उपमहानगरपालिकालाई समयमै सडक निर्माणका लागि पटक पटक ताकेता गर्दा पनि हालसम्म कुनै चासो नलिइएका कारण बाध्य भई आन्दोलन गर्नु परेको स्थानीयको गुनासो छ । लामो समयसम्म सडक निर्माण पूरा नहुँदा हिँडडुलमा समस्या हुने, हिलो र धुलोको समस्या सँधै खेप्नु पर्ने बाध्यताको अन्त्यका लागि माग गर्दै आन्दोलनमा उत्रिएको उनीहरुको भनाइ छ ।