सुर्खेत। वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा पूर्वाधार निर्माणको काम हालै आएर तीव्र भएको छ। २०३८ कात्तिक २२ गते स्थापना भएको वीरेन्द्रनगर औद्योगिक क्षेत्रले हाल पूर्वाधार विकासमा गति लिएको हो। सानो लगानीबाट सुरु भएको यस औद्योगिक क्षेत्रमा हाल ठूला लगानीका उद्योग धमाधम स्थापना हुन थालेका छन्। वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा खाद्य पदार्थमा आधारित उद्योग, पानी प्रशोधन, इन्जिनियरिङ वर्कसप, काठजन्य उद्योग, पोल्टी फर्म, ऊर्जासम्बन्धी उद्योग आदि रहेका छन्।
कार्यालय प्रमुखले हाल १ करोड रुपियाँभन्दा बढी लगानीका उद्योगहरू स्थापना भएको बताएका छन्। सोही लगानीका चारवटा उद्योग निर्माणाधीन अवस्थामा रहेका छन्। त्यस्तै कर्णाली कोल्डचेन लजिस्टिक उद्योग २० करोडमा निर्माण हुँदै छ। सुरक्षा ग्याबिन एक करोड र पीएन फुड्स एक–एक करोड लगानी निर्माण हुँदै छन्। प्लास्टिकजन्य उद्योगसम्बन्धी एमके नेपाल उद्योग २५ लाखमा निर्माण भईरहेको छ।
पछिल्लो समय सुर्खेत डेरी उद्योग १५ करोड, भवानी छापाखाना ५० लाख र गङ्गामाला काष्ठ तथा फर्निचर उद्योग ३० लाखको लगानीमा सञ्चालनमा आएका छन्। ९० रोपनीको क्षेत्रफल रहेको वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा पाँचवटा औद्योगिक भवन र पाँचवटा व्यावसायिक सटर रहेका छन् भने २७ वटा उद्योग छन्। जसमध्ये हाल २१ वटा उद्योग सञ्चालनमा रहेका छन्।दुईवटा उद्योग कब्जामा लिएर उद्योगको मूल्याङ्कन भइरहेको कार्यलय प्रमुखको भनाइ रहेको छ।
हाल औद्योगिक क्षेत्रको आम्दानी पनि बढेको छ। औद्योगिक क्षेत्रले आर्थिक वर्ष २०७७/७८ मा ५३ लाख २५ हजार आम्दानी गरेको छ। औद्योगिक क्षेत्रको ५०० मिटर सडक कालोपत्रे गरिएको छ भने ३०० मिटर सडक कालोपत्रे गर्न बाँकी रहेको छ। यस औद्योगिक क्षेत्रमा ७०० मिटर पर्खाल लगाउने काम भएको छ। लगानी गर्ने क्रम बढ्दो रहेको र पुराना बन्द भएका उद्योगलाई खारेजी गरेर नयाँ स्थापना भएका छन्। अहिले औद्योगिक क्षेत्रमा पूर्वाधार निर्माणका लागि लगानीकर्ता आकर्षित भए पनि जग्गा अभाव भएको कार्यलय प्रमुखले बताएका छन्।