म्याग्दी। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले कालिगण्डकी करिडोर सडक गण्डकी प्रदेशको लाइफलाइन रहेको बताएका छन्।
म्याग्दीको बेनीमा शनिबार सम्पन्न भएको सातौं म्याग्दी महोत्सवमा बोल्दै मुख्यमन्त्री अधिकारीले कोरलादेखि त्रिवेणीसम्मको सडक गण्डकी प्रदेशको लाइफलाइनको रुपमा रहेकोले बताएका हुन्।
उनले तिब्बतसँगको व्यापारका लागि पनि यो सडक राम्रो हुनुपर्ने भएकोले त्यसलाई मुख्य प्राथमिकतामा राखेर अगाडि बढाइने बताए। नेपाल, भारत तथा चीन त्रिदेशीय व्यापारका लागि निकै महत्वपूर्ण भएको भन्दै उनले यो सडक स्तरीय हुनुपर्ने बताए।
आफ्नो गाउँ आफै बनाउनका लागि सबैले आफ्नो ठाउँबाट भूमिका खेल्नु पर्ने बताउँदै गाउँघरमा रहेका खेतबारीमा उत्पादनतर्फ लगाउनुपर्ने धारणा समेत मुख्यमन्त्री अधिकारीको रहेको छ।
भारतको अयोध्यामा यहाँको कालिगण्डकीको शिला लगेर प्रतिस्थापन गर्ने कामका लागि पहल गरिएकोले त्यसले पनि पर्यटन प्रवर्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा राखे।