सुर्खेत। कर्णाालीका हिमाली जिल्लामा हिमपात अझै रोकिएको छैन। डोल्पा, मुगु, हुम्ला र जुम्लामा अत्यधिक हिमपात भएको छ। त्यस्तै जाजरकोटको उत्तरी क्षेत्र, रुकुम पश्चिमको उत्तरी क्षेत्रमा समेत हिमपात भएको छ। लामो समयदेखि काला देखिएका यहाँका हिमाल सेताम्य भएका छन्।
अग्ला ठाउँमा रहेका सबै बस्ती हिमपातका कारण सेताम्य देखिन्छ। डोल्पाको जुफाल, हुम्ला सिमकोट र मुगुको ताल्चा विमानस्थलमा हिउँ जमेका कारण हवाइ सेवा समेत दुई दिनदेखि ठप्प छ।
चिसोका कारण पानी जमेका कारण जनजीवन मुस्किल हुँदै गएको छ। भारी हिमपात हुँदा दैनिक दिनचर्या चलाउन समस्या परेको छ। निम्न वर्गका मानिसमात्र हिमाली जिल्लामा रहेका कारण चिसोको प्रभाव परेको छ। हिमाली जिल्लाका अधिकांश जनप्रतिनिधि, कर्मचारी तथा हुने खानेहरू शहर झरिसकेको बताइन्छ। हुम्ला, मुगु र डोल्पाका जनप्रतिनिधि नेपालगञ्ज, सुर्खेत र काठमाडौंमा बसेर चिसो महिना बिताएर तलबभत्ता बुझ्ने गरेका छन्।
सौर्य उर्जाबाट सञ्चालन हुने यहाँको फोन सेवा लगातार तीनदिन देखि घाम नलाग्दा फोन सेवा अवरुद्ध भएको हो। सदरमुकाममा रहेका टावर सञ्चालनमा रहे पनि गाउँमा रहेका सबै टावर बन्द भएका छन्। भेरी करिडोर अन्तरर्गत जाजरकोट–डोल्पा सडक खण्डमा यातायात सेवा प्रभावित भएको छ। हुम्लाको यारी,हिल्सा नाका जाने र आउने बाटो अवरुद्ध भएको छ। त्यस्तै लिमी जाने बाटो समेत हिमपातले अवरुद्ध भएको छ। उपल्लो र मध्य डोल्पाको सम्पर्क समेत विच्छेद भएको छ। कर्णाली राजमार्ग अन्तर्तग जुम्लादेखि मुगुसम्म सञ्चालन हुने यातायात सेवा समेत प्रभावित भएको छ।