सिन्धुपाल्चोक । बाह्रविसे तातोपानी सडक सुदृढीकरण गर्न अर्थमन्त्री जनार्दन शर्माले अर्थ र भौतिक मन्त्रालयका सचिवलाई निर्देशन दिएका छन् । अर्थमन्त्री शर्माले अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोकको बाह्रविसे देखि नेपाल चीन सिमा नाका मितेरी पुलसम्मको सडक सुदृढीकरण र नाका ब्यवस्थित गर्न निर्देशन दिएका हुन् ।
यस क्षेत्रको स्थलगत अवलोकन गरी उनले सरकारले चीनसँग समन्वय गरेर सडक निर्माण र भन्सार सहजीकरणका लागि पहल गर्ने पनि बताए । त्यस अवसरमा अर्थमन्त्री शर्माले राजमार्ग व्यवस्थित गर्न काम अघि बढाउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
सिन्धुपाल्चोकका सांसद तथा सभामुख अग्निप्रसाद सापकोटाले बाह्रबिसे देखि तातोपानी नाका सम्मको सडकको पुनर्निर्माण लगायतका विकास कार्यलाई बहुवर्षिय योजनाको रुपमा लैजानु पर्ने आवश्यकता औंल्याए ।
त्यसका लागि तत्कालीन, अल्पकालीन र दीर्घकालीन खाका बनाएर अगाडि बढ्नुपर्नेमा उनको जोड थियो । नेपाल चीन सम्बन्धमा ऐतिहासिक महत्व बोकेको, जन्ती मार्ग समेत भनिने यो नाकालाई अन्य नाकासँग तुलना गर्न नमिल्ने भन्दै उनले सो क्षेत्रको सुधारबाट राज्यले ठूलो फाइदा लिन सक्ने बताए ।