काठमाडौं। लमजुङको दोर्दीखोलामा निर्माणधीन १२ मेगावाटको दोर्दी-१ जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ। आयोजनाको बाँध क्षेत्रको सिभिल निर्माणको काम अन्तिम चरणमा पुगेपनि गत असार १ गते आएको बाढीले आयोजनाको डिसान्डरको सुरक्षित पर्खाल, स्टिलिङ बेसीनमा क्षति पुगेको कम्पनीले जनाएको छ।
आयोजना प्रबन्धक उज्वल सिलवालका अनुसार आयोजनाको बाँध क्षेत्रको सिभिल संरचना निर्माणको काम सकिएको छ। विद्युतगृहको काम पनि अन्तिम चरणमा पुगेको उनले बताए। अहिले इलेक्ट्रोमेकानिकल उपकरण सफा गर्ने काम भइरहेको कम्पनीले जनाएको छ।
आयोजनाको सिभिल संरचना निर्माणको काम पुरा गरी साउनदेखि विद्युत उत्पादन गर्ने लक्ष्य रहेको भएता पनि कोरोना र बाढीका कारण निर्माण अवधि पछाडि धकेलिएको छ। अब आयोजनाको सबै काम पूरा गरेर पुसभित्र विद्युत उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ।
प्रमुख सिलवालले भने आयोजना आफैंले सबस्टेसनसम्म आवश्यक पर्ने साढे ३ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरिरहेको छ। आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्ने १३२ केभी कीर्तिपुर सबस्टेसनमा लगेर जोडिनेछ।
आयोजनाले प्रसारण लाइनको १५ वटा टावर निर्माण पनि गरीसकेको छ। ०७४ साल चैतबाट सुरु भएको आयोजना सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्न २ अर्ब भन्दा माथीको लागत खर्च हुने अनुमान गरिएको छ।