काठमाडौं। सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले चक्रपथको दोस्रो खण्ड (कलङ्की–नारायणगोपाल चोक) विस्तारका लागि चिनियाँ पक्षले नेपालको तयारी कुरिरहेको बताए।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा मङ्गलबार मन्त्रालयमा आयोजित पत्रकार साक्षात्कार कार्यक्रमका अवसरमा महानिर्देशक थापाले चक्रपथ क्षेत्राधिकारभित्र पर्ने मन्दिरलगायतका संरचना पूर्ण रूपमा हटाइएपछि चिनियाँ पक्ष नेपाल आउने स्पष्ट पारेका हुन्।
उनले मन्दिरबाहेकका संरचना हटाइसकिएको बताउँदै भने, “मन्दिर सार्ने काम पनि सकिन लागेको छ । अब सामाखुसीस्थित शिव मन्दिर मात्र सार्न बाँकी छ । त्यो सारिसकेपछि काठमाडौँस्थित चिनियाँ दूतावासलाई जानकारी गराउने छौँ र विस्तारका लागि चक्रपथ हस्तान्तरण गर्ने छौँ ।”
कुल ११.६ किलोमिटर रहेको यस खण्डलाई चीन सरकारले आठ लेनमा विस्तार गर्ने सम्झौता छ । चक्रपथको प्रथम खण्ड कोटेश्वर–कलङ्की विस्तार गरी चीनले नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ । यसअघि चिनियाँ पक्षले यो सडक खण्डमा पर्ने महाराजगञ्ज चोकको मुआब्जा विवाद टुङ्ग्याएर मात्रै काम थाल्ने अडान पनि लिएको थियो ।
विभागका महानिर्देशक थापाले सडक विभागले त्यो ठाउँमा आफैँले सडक विस्तार गर्ने प्रतिबद्धता चिनियाँ टोलीलाई दिएको बताए । महाराजगञ्ज चोकको २४४ मिटरमा मुआब्जा विवाद छ । त्यहाँ १९ घरसहित करिब ४४ कित्ता जग्गा प्राप्ति गर्नुपर्नेछ ।