फाइल तस्बिर
दैलेख। मध्यपहाडी सडकअन्तर्गत जाजरकोट र रुकुमपश्चिम जोड्ने भेरी नदीमा पुल बनाउने जिम्मा पाएको निर्माण कम्पनीलाई सरकारले जरिवाना लगाएको छ। ठेक्का पाएको १० वर्षसम्म पनि पुल नबनाउने कम्पनीलाई मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालय दैलेखले जरिवाना तिराउने भएको हो।
निर्देशनालयले सूचना जारी गर्दै निर्माण व्यवसायी वाइपी कन्स्ट्रक्सन प्रालिलाई ठेक्का सम्झौताअनुसार काम नगरेको भन्दै आठ करोड रुपैयाँ दाखिला गराउन निर्देशन दिएको छ।
निर्देशनालयले पटक–पटक ताकेता गर्दा पनि निर्माण गर्न अटेर गरेपछि गत मङ्सिर २९ गतेको विभागीय निर्णयानुसार ठेक्का सम्झौता रद्द गरिएको छ। जाजरकोटको भेरी नगरपालिका र रुकुमको चौरजहारी नगरपालिका जोड्ने पुल निर्माण व्यवसायीको लापरवाहीका कारण १० वर्षदेखि अधुरै छ। पुलका दुई पिलर मात्र निर्माण गरेर निर्माण कम्पनीले काम छाडेको थियो।
तीन वर्षमा काम सम्पन्न गर्ने २०६९ सालमा १८ करोड रुपैयाँ लागत अनुमानको उक्त ठेक्का वाइपी कन्स्ट्रक्सनका राजु श्रेष्ठले १४ करोडमा ठेक्का सम्झौता गरेका थिए। ठेक्का सम्झौताको १० वर्ष बित्दासमेत काम नगरेपछि सम्झौता गत मङ्सिरमा तोडिएको हो।