काठमाडौं। पूर्वी पहाडी जिल्लालाई तराई हुँदै संघीय राजधानीसँग जोड्ने कोसी राजमार्ग निर्माणको काम करिब ५० प्रतिशत पूरा भएको छ। पाँच वर्ष पहिले सुरू भएको कोसी राजमार्गको करिब करिब आधा काम पूरा भएको हो।
हाल विसं २०८१ सालमा सम्पन्न गर्नेगरी तीव्र गतिमा निर्माण कार्य अघि बढाइएको छ।
यस करिडोरमा अहिलेसम्म ५७ किलोमिटर सडक ग्राभेल भएको छ भने कालोपत्र गर्न चार ठेक्कामार्फत् काम भइरहेको छ। कूल ४९ किमी लम्बाइमा दोभानसम्म नाली बनाउने, पर्खाल लगाउने लगायतका संरचनाको काम भइरहेको छ।
मंसिर अगाडिसम्म काम कम भए पनि अहिले स्रोत परिचालन राम्ररी गरेर काम अघि बढाएको आयोजनाले जनाएको छ। निर्माण कम्पनीले जनशक्ति र उपकरण दुवै बढाएको बताइएको छ।
आयोजनामा हालसम्म ८० किमी ग्राभेलमध्ये ४९ किमी कालोपत्र भएको छ। ८० किमीदेखि १६२ किमीसम्मको खण्ड ठेक्कामा जान बाँकी रहेको बताइएको छ।
करिडोरमा कुनै कुनै खण्डमा वर्षाको समयमा पहिराको समस्या आइरहेको आयोजनाले जनाएको छ।
राष्ट्रिय गौरवका अरू आयोजना जस्तै यसमा पनि बजेटको समस्या छैन। वार्षिक बजेट पर्याप्त नभएमा थप माग हुने र बहुवर्षीय ठेक्कामा लागि सहमति मागेर अघि बढाइने आयोजनाले जनाएको छ।