ईलाम । मदन भण्डारी चुरे राजमार्ग अन्तर्गत इलाम खण्डमा पूर्वी नेपालबाट पश्चिम नेपालसम्म जोडिने तीन वटा खोलाहरूमा पुल निर्माणको काम थालिएको छ ।
उक्त राजमार्गको इलाम चुलाचुली गाउँपालिका भित्र ५ खोलामा पुल निर्माण डिपिआरको काम सम्पन्न भएको भएतापनि हालमा तीन वटाको मात्र काम थालिएको छ । राष्ट्रिय राजमार्गको पहुँचबाट चुरे क्षेत्रमा पर्ने बस्तीलाई मध्यनजर गरेर झापाको बेलडाँगीबाट इलामको चुलाचुली क्षेत्रमा जोड्ने रतुवा खोला , इलाम चुलाचुलीको बुकुवा र विधुवा खोलामा पुल निर्माणको ठेक्का सम्झौता गरेर निर्माणकार्य सुरु भएको हो । इलामको चुलाचुली र माई नगरपालिकाको सुखानीसम्म मदन भण्डारी चुरे राजमार्ग अन्तर्गत सर्भे सम्वन्धीको सम्पुर्ण काम सकिएको छ ।
चलाचुली गाउँपालिका अध्यक्षकाका अनुसार सडक सर्बे भइसकेपछि पुल निर्माणको काम सुरु हुँदा स्थानीय बासिन्दाहरु धेरै नै खुसी भएका छन् । पुल निर्माणको काम ठेक्का सम्झौता भएका पुलहरु मध्येबाट रतुवा खोलामा एक सय ५० मिटर लामो पुल निर्माणको काम सुरु भई ४५ प्रतिशत काम सम्पन्न भईसकेको छ भने बिधुवा र बुकुवा खोलामा पुल निर्माण गर्ने कम्पनिले निर्माणको लागी चाहिने सम्पुर्ण सामग्रीहरु साइडमा ढुवानीको काम भईरहेको छ ।
राजमार्ग आयोजना कार्यालय दमकका अनुसार तुम्बी कन्स्ट्रक्सन प्रालिसँग ठेक्का २०७७ भदौमा तीन वटा पुल निर्माणको लागि सम्झौता भएको छ । २०८० को जेठ भित्रमा सम्पन्न गनुपर्ने तिन वटै पुलहरुको ठेक्का ३४ करोड भन्दा बढी लगानीमा सम्झौता भएको हो ।
बुकुवा खोलामा ४० मिटर र विधुवा खोलामा एक सय १० मिटर लामो पुल निर्माण हुनेछ भने चाजु र बागद्धार खोलामा पुल निर्माणका लागी डीपीआरको कामहरु सबै सम्पन्न भईसकेका छन् ।१२ सय ५० किलोेमिटर लम्बाई भएको चुरे मदन भण्डारी राजमार्गको धरान देखी इलामको चुलाचुली हुँदै झापाको बाहुनडाँगी सम्म १ सय २० किलोमिटर सडक कालोपत्रे गनुपर्ने हुन्छ ।