काठमाडौं। नौबिसे–नागढुङ्गा सुरुङ्गमार्गको म्याद थप गरिएको छ। निर्धारित समयमा काम नसकिने भएपछि पुनः नौ महिना म्याद थप गरिएको हो।
आयोजना सन् २०२४ को अप्रिल २५ सम्म म्याद कायम भएको छ । धादिङ सिस्ने खोलादेखि काठमाडौँ सतुङ्गल जोड्ने आयोजनाको यसअघि पनि ८६ दिन म्याद थप गरिएको थियो। पहिले थपिएको म्याद आगामी जुलाई महिनामा सकिँदै थियो । तर, निर्माण कम्पनीले बाँकी काम निर्धारित समयमै नसकिने भनेर म्याद थप्न प्रस्ताव गरेको थियो । सोही बमोजिम नौ महिना म्याद थप गरिएको छ।
आयोजनाको अहिलेसम्म ४७.९ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । अधिकारीका अनुसार निर्माण कम्पनीले बाँकी काम थप गरेको समय सीमामै सक्ने प्रतिबद्धता जनाएको छ ।
सुरुङको मात्र भौतिक प्रगति ७३.३० भएको आयोजना प्रमुख माधव प्रसाद अधिकारीले बताए । त्यस्तै ‘इभ्याकुएसन’ सुरुङको कुल लम्बाइ दुई हजार ५५७ मिटर छ । यसको दुई हजार ४६.२० मिटर सुरुङ खनिएको छ। त्यसमा पूर्वबाट एक हजार ९८.६० मिटर र पश्चिमबाट ९ सय ४७.६० मिटर सुरुङ खनिएको छ। तीन वटा अन्डर पास निर्माणको काम भने सकिएको छ । त्यस्तै चार वटा बक्स कलभर्ट एउटा ओभर पास ,तीन वटै पुल निर्माण सकिएका छन्। फ्लाइटभर एउटा निर्माण गर्नुपर्नेमा यसको ९५ प्रतिशत काम सकिएको छ। क्रस–प्यासेज भने ७४.२० मिटर निर्माण सकिएको छ । त्यसको कुल लम्बाइ एक सय २८ मिटर छ। आयोजनाको ठेक्का र मुआब्जा गरेर कुल लागत करिब २२ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ। यसअघि २० अर्ब ६० करोड रुपैयाँमा आयोजना पूरा गर्ने उल्लेख थियो। जापानी येन बलियो हुँदै जाँदा लागत पनि बढेको हो। कुल लागतमध्ये १६ अर्बभन्दा बढी जाइकाले सहुलियत ऋण उपलब्ध गराउनेछ। बाँकी ६ अर्बभन्दा बढी रकम नेपाल सरकारको हुनेछ ।