काठमाडौं। नागढुंगा–नौबिसे सडकको विकल्पमा रहेको सितापाइला–धार्के सडकको काम अब चाँडै पूरा हुने भएको छ। यस खण्डको बाँकी कालोपत्रेको काम सुरु हुने भएको हो।
सडक डिभिजन काठमाडौंले सितापाइलाबाट जाने सडक कालोपत्रेको तयारी पुरा भएको र काम अर्को हप्तादेखि सुरु हुने जनाएको छ।
काठमाडौं सडक डिभिजन अन्तर्गत सितापाइलाबाट ठूलो खोलासम्मको १० किलोमिटर मात्र सडक निर्माणको जिम्मेवारी थियो। सितापाइलाबाट ५ किलोमिटर सडक खण्ड एक वर्षअघि नै कालोपत्रे भइसकेको छ। अब ५ किलोमिटर सडक कालोपत्रे हुन बाँकी रहेको हो। यो सडक खण्ड निर्माणको सबै काम एक महिनाभित्र पूरा गर्नेगरी काम भइरहेको बताइएको छ।
विस्तारका काम सबै सम्पन्न भएर ठूलो खोलाको नजिक थोरै मात्र बाँकी रहेको छ।
यो सडक निर्माणको योजनाअन्तर्गत अन्तिम चरणको काम भइरहेको छ। केही कल्भर्ट निर्माण भइरहेका छन्। रामकोटदेखि नर्सरी बगैंचा हुँदै अगाडि बेस र सब बेसहरु राख्ने काम भइरहेको छ।
ठूलोखोलाबाट धार्केसम्मको सडक विस्तारको काम नुवाकोट सडक डिभिजनले हेरिरहेको छ। यसको पनि ठेक्का लागेर राम्रोसँग काम भइरहेको बताइएको छ।
उनका अनुसार हाल धार्केदेखिको ३ किलोमिटर सडक कालोपत्रे गर्ने काम पूरा भइसकेको छ। यस खण्डमा १४ किलोमिटर सडक पर्छ जसमा धार्केबाट ३ किलोमिटर सडक कालोपत्रे भइसकेको छ। बाँकी ११ किलोमिटर सडकमा स्ट्रक्चर निर्माण, ड्रेन ढलान, सबग्रेड गर्ने काम भइरहेको छ।