काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले नख्खु–भैंसेपाटी सडक निर्माण बारे प्रश्न उठाएकी छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद कार्कीले आफ्नै क्षेत्रको सडकबारे प्रश्न उठाएकी हुन्।
उनले भनिन्, ‘धुलो उडेको सडकमा पानी हाले चिप्लेर लड्ने, नहाले धुलोले दमखोकी हुने मेरो क्षेत्रको सडक। नख्खु–भैंसेपाटी सडक निर्माण कहिले टुंगो लाग्छ?’
उनले काठमाडौं उपत्यकाभित्रका सडक निर्माण गर्न माग राख्दै
पूर्वाधार क्षेत्रमा उपत्यकाभित्र पनि ललितपुर हेपिएको अवस्थामा रहेको बताइन्।
उनले लामो समयदेखि चुनिखेल फर्सीडोल सडक, सातदोबाटो–चापागाउँलगायत सडक अलपत्र रहेको पनि बताइन्। सडक विभाग र काठमाडौं उपत्यका खानेपानी लिमिटेडले कसको स्वार्थमा काम नगरेका हुन् भन्ने पनि सांसद कार्कीको प्रश्न छ।
उनले राज्यका निकाय गैरजिम्मेवार हुन नहुने बताइन्। उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई उपत्यकाभित्रका सडक निर्माणलाई प्राथमिकता दिन पनि ध्यानाकर्षण गराएकी छन्।