नुवाकोट। नुवाकोटमा अवैध रुपमा सञ्चालन गरिएको भनि सिल गरिएका अधिकांश क्रसर उद्योग सञ्चालनमा आएका छन्। गृह मन्त्रालयको गत पुस २० को निर्देशनपछि अवैध भनेर बन्द गरिएका क्रसर उद्योगहरु अहिले सञ्चालनमा आएका हुन्।
जिल्लामा सञ्चालित ४९ क्रसर तथा बालुवा प्रशोधन उद्योगमध्ये ४५ सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानएका छन्। उनका अनुसार गत माघ १५ गते गृह मन्त्रालयको परिपत्रअनुसार दर्ता भएर सञ्चालनमा रहेका तथा राजस्व बुझाएका कागजातको आधारमा बन्द गरिएको क्रसर तथा बालुवा प्रशोधन उद्योग सञ्चालनमा ल्याइएको हो । ती उद्योगहरु आगामी असार मसान्तसम्म सुचारु हुन दिने गृह मन्त्रालयको परिपत्रमा भनिएको छ ।
“कानुनीरुपमा दर्ता भएका र कर (राजस्व) बुझाउँदै आएका उद्योगलाई सञ्चालन गर्न दिने गृह मन्त्रालयको निर्णयको आधारमा ती उद्योगमा लगाइएको ताला प्रहरी र जनप्रतिनिधिको रोहबरमा खोल्न लगाएका छौँ”, प्रजिअ थापाले भने, “अहिले खोलिएका उद्योग सधैँको लागि होइनन्, आगामी असार मसान्तसम्मको लागि मात्र हो ।”
नुवाकोटमा रहेका ४९ क्रसर तथा बालुवा प्रशोधन उद्योगमध्ये हाल ४५ वटा सञ्चालनमा आइसकेका छन् भने चारवटाले आवश्यक कागजात बुझाउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सुरेश श्रेष्ठले जानकारी दिए। उनका अनुसार सञ्चालनमा आएकामध्ये ४० वटा व्यावसायिक प्रयोजन र पाँचवटा विकास निर्माणअन्तर्गत आयोजना प्रयोजनको लागि स्थापना भएको देखिन्छ । गोरखापत्रबाट