डोटी । पहिरोले अवरुद्ध भएको कपल्लेकी–नापानी–गड्सेरा सडक नखुल्दा स्थानीयबासी समस्यामा परेका छन् । असोज अन्तिम साता परेको बेमौसमी वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो गएर बन्द भएको कपल्लेकी–नापानी हुँदै गड्सेरा जोड्ने सडक अहिलेसम्म पनि नखुल्दा स्थानीय बासिन्दालाई समस्या भएको हो ।
गत कात्तिक पहिलो साताको अविरल वर्षाका कारण गएको पहिरोले यातायात सेवा बन्द भएको हो । सडक अझै नखुल्दा दैनिक उपभोग्य वस्तु किन्न र आफूले उत्पादन गरेका वस्तु बजारसम्म लैजानसमेत कठिन भएको जोरायल गाउँपालिका–५ फलेदा गाउँका बासिन्दाको गुनासो छ ।
बन्द सडक खुलाउनका लागि पटक–पटक शिखर नगरपालिका, जोरायल गाउँपालिका तथा डिभिजन सडक कार्यालयमा आग्रह गर्दासमेत कुनै पहल नभएकाले स्थानीय बासिन्दा आक्रोशित भएको ऐरीगाउँका रामबहादुर ऐरले बताए ।
सडक नखुल्दा गाउँमा उत्पादित साग, तरकारी तथा फलफूल बजारसम्म लैजान नपाउँदा बारीमै कुहिन थालेको उनीहरुको गुनासो छ । यसैगरी सडक बन्द भएपछि गाउँमा गाडी नजाँदा दैनिक उपभोग्य वस्तुको मूल्यसमेत आकाशिएको उपभोक्ताले बताए ।