काठमाडौं। जुम्लाको गुठीचौर गाउँपालिकाले सौर्य ऊर्जाबाट बिजुली निकाल्ने भएको छ। वडा नं २ स्थित मुरुली गाउँमा सौर्य ऊर्जाबाट बिजुली निकाल्न थालिएको गाउँपालिकाका अध्यक्षले बताएका छन्।
सो क्षेत्रमा वडाभित्र रहेका झण्डै दुई सय घरधुरीलाई बिजुलीको पहुँचमा ल्याउनका लागि सौर्य ऊर्जाबाट बिजुली बाल्न लागिएको हो। हुनेखानेले सोलार प्यानल जडान गरेर बिजुली बालिरहेको भएपनि वर्षौदेखि नै यो वडा अन्धकार थियो। अन्धकारमा बस्न बाँध्य यहाँका स्थानीयबासीले निकट भविष्यमै सौर्य ऊर्जाको बत्ती पाउने भएका छन्।
योसँगै सल्लाको दियालो बालेर उज्यालो गर्ने युगको अन्त्य हुने भएको छ। कुनै पनि घर बिजुलीविहीन हुने छैनन्, सबै घरधुरीमा बिजुली पुर्याउन स्थानीय सरकार लागिपरेको छ। गाउँ–गाउँमा सडक, घरघरमा बिजुली, एक घर–एक धाराको अवधारणा साकार पार्न लागिएकोे अध्यक्षले जानकारी गराएका हुन्।
सौर्य ऊर्जाका लागि तीन करोड ५६ लाख रुपैयाँ विनियोजन गरिएको र यसबाट ५० वाटको बिजुली बत्ती बालिने भएको छ। गाउँपालिकाका कुनै पनि बस्ती बिजुलीविहीन नहुने प्रमुख प्रशासकीय अधिकृतले जनाए। वर्षौंदेखिको बिजुली बाल्ने त्यस क्षेत्रको सपना पूरा हुने भएको छ। बिजुली नहुँदा विद्यार्थी र ज्येष्ठ नागरिकलाई सास्ती हुने गरेको थियो।
त्यस्तै सोही गाउँपालिकाभित्र ५३ होमस्टे सञ्चालनमा अएका छन्। सो गाउँपालिका–१ कोल्ते र चोत्रा गाउँमा जुम्ला सदरमुकाम खलङ्गा हुँदै डोल्पा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई दृष्टिगत गर्दै स्थानीयबासीले होमस्टे सञ्चालनमा ल्याएका हुन्। होमस्टेमा पर्यटकले सम्मान एवं सत्कार पाएका छन्। यहाँको रैथाने वस्तुको खानाले होमस्टे राम्ररी चलिरहेको गाउँपालिकाका अध्यक्षले बताएका छन्। हाल होमस्टेको व्यवस्थापन प्रभावकारी बनाउँदै पर्यटकमैत्री व्यवहारबारे स्थानीयबासीलाई जागरूक बनाउने कार्य भइरहेको छ।