बागलुङ। चौडीखोला पक्की पुल निर्माणको काम हालसम्म ४० प्रतिशत मात्र पूरा भएको छ। राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ जैमिनीअन्तर्गत जैदी–छिस्ती खण्डमा निर्माण थालिएको चौडीखोला पक्की पुलको काम हालसम्म ४० प्रतिशत मात्र पूरा भएको हो।
२०८० असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी विसं २०७७ असार २१ गते सम्झौता गरी राजेश्वरी कन्स्ट्रक्सनले काम सुरु गरेको थियो। सम्झौता भए पनि चौडीखोलामा रहेको बेली ब्रिज नेपाली सेनाले नहटाउँदा काम ढिलो सुरु भएको थियो । निर्माण कम्पनीले सम्झौता गरेको करिब एक वर्षपछि मात्र काम थालेको थियो। अहिले ११ मिटर चौडाइ र ३५ मिटर लम्बाइ रहेको पुल ढलान गर्ने तयारी गरिएको छ ।
पुल रु तीन करोड ८० लाख ५४ हजार लागतमा निर्माण थालिएको हो । पुल निर्माण थालिएसँगै नेपाल, भारत र चीन जोड्ने रेशमी मार्गको रुपमा रहेको कालीगण्डकी करिडोरमा यात्रा गर्न सहज हुनेछ ।