नुवाकोट । नुवाकोट र गोरखा जिल्लामा भारत सरकारको सहयोगमा ५० हजार आवास पुनःनिर्माण कार्य सम्पन्न भएको छ।
भारतीय दूतावासले काठमाडौंमा सोमबार राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, युएनडिपी र युएनओपिएसँगको सहकार्यमा आयोजना गरेको कार्यक्रममा ५० हजार घर पुनर्निर्माण गरेको जानकारी गराएको हो।
भारतीय दूतावासकी नियोग उपप्रमुख नामग्य खम्पाले भारत सरकारले प्रतिबद्धता जनाएअनुरूप ५० हजार निजी घरहरूको पुनःनिर्माण कार्य सफलतापूर्वक सम्पन्न गरेको बताइन्।
उनले गोरखा, नुवाकोट र काठमाडौंलगायतका क्षेत्रमा सांस्कृतिक सम्पदाहरू पुनः निर्माणमा सहयोग गरिरहेको समेत जानकारी दिइन् ।
कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भारतले गरेको सहयोगका लागि धन्यवाद दिए। प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले गोरखा र नुवाकोट जिल्लाका चार नगरपालिका र १४ गाउँपालिकाका भूकम्प प्रभावित लाभग्राहीलाई सामाजिक–प्राविधिक सहजीकरण तथा परामर्श सेवा उपलब्ध गराउन सन् २०१८ मा भारत सरकारले युएनडिपी र युएनओपिएलाई यस परियोजनामा संलग्न गराएको जानकारी दिए।