काठमाडौं। नेपाल विद्युत प्राधिकरणले पश्चिम लमजुङका उपभोक्तालाई भोर्लेटार सबस्टेसनबाट विद्युत वितरण सुरु गरेको छ ।उपभोक्ता समितिबाट विद्युत व्यवस्थापनको जिम्मा प्राधिकरणले लिएसँगै भोर्लेटार सबस्टेसनबाट विद्युत वितरण सुरु गरेको हो ।
पश्चिम लमजुङअन्तर्गत मध्यनेपाल नगरपालिका वडा नम्वर ६, ७, ८ र ९ का उपभोक्तासँगै क्होलासोँथार गाउँपालिका अन्तर्गतका पाँचवटा गाउँ र सुन्दरबजारका केही क्षेत्रमा भोर्लेटार सबस्टेसनबाट विद्युत वितरण सुरु भएको हो । यसअघि उदिपुर सबस्टेसनबाट विद्युत वितरण हुँदै आएकोमा विभिन्न प्राविधिक समस्या आइरहेकाले भोर्लेटार सबस्टेसनबाट विद्युत वितरण सुरु गरिएको लमजुङ विद्युत वितरण केन्द्रका प्रमुख मेघनाथ भट्टराईले बताए ।
पश्चिम लमजुङका क्षेत्रमा उदिपुर सबस्टेसनबाट विद्युत वितरण गर्दा लामो दूरी पर्नुका साथै हावाहुरीका कारण विद्युतमा समस्या आउँदा व्यवस्थापन गर्न समस्या भएपछि दूरी छोटो गरिएको केन्द्र प्रमुख भट्टराईको भनाइ छ । “पहिला बेसीसहर–१, उदिपुर फिडरबाट विद्युत वितरण भइरहेको थियो, दूरी लामो हुँदा सेवा प्रवाहमा असहज भयो,” भट्टराईले भने, “अब छुट्टै सबस्टेसन र अलग अलग तीनवटा फिडरबाट विद्युत वितरण हुँदैछ, सेवा प्रवाहमा सहजता हुनेछ ।”
भोर्लेटारमा सबस्टेसन निर्माण सम्पन्न भएसँगै तीनवटा फिडरबाट छुट्टाछुट्टै विद्युत वितरण गर्न लागिएको केन्द्र प्रमुख भट्टराईले बताए । अहिले दुईवटा फिडर निर्माणाधीन भएको र यही महिनाको अन्तिमसम्म निर्माण सम्पन्न भई अलग अलग तीनवटा फिडरबाट विद्युत सेवा प्रवाह गरिने केन्द्र प्रमुख भट्टराईको भनाइ छ । “सुन्दरबजार अन्तर्गत धुसेनी क्षेत्र, क्होलासोँथार गाउँपालिका अन्तर्गतका क्षेत्र र भोर्लेटार आसपासका क्षेत्रमा छुट्टाछुट्टै तीनवटा फिडर निर्माणको क्रममा छन्,” भट्टराईले भने, “यो महिनाको अन्तिमसम्म निर्माण सम्पन्न हुन्छ र सोहीअनुसार विद्युत वितरण गरिने छ ।”
भोर्लेटार सबस्टेसनमार्फत् छुट्टाछुट्टै फिडरबाट विद्युत वितरण गर्दा समस्या कम हुने र आएका समस्या समाधान गर्न पनि सहज हुने केन्द्रको विश्वास छ । हाल सामान्य हावाहुरीमा समेत विद्युत प्रवाहमा समस्या भएको र नियमित विद्युतका लागि अब त्यस्तो समस्या नहुने केन्द्रले जनाएको छ । यसअघि विद्युत वितरण गर्दै आएको पश्चिम लमजुङ विद्युत उपभोक्ता संस्थाले सेवाग्राहीलाई विद्युत वितरण गरी विद्युत महसुल उठाउँदै आए पनि संस्थाले प्रभावकारी सेवा प्रवाह गर्न नसकेपछि नेपाल विद्युत प्राधिकरणले स्वामित्व लिएको हो ।
प्राधिकरणले स्वामित्व लिएसँगै प्राधिकरणले संरचना विकास र अन्य व्यवस्थापनलाई सहज बनाउन थालेको हो । उपभोक्ता संस्थाले जिल्लाको तीनवटा स्थानीय तहअन्तर्गत साविक आठवटा गाविसमा विद्युत सेवा वितरण गरेको थियो । उपभोक्ता संस्थाले जिल्लाको मध्यनेपाल नगरपालिका अन्तर्गत साविक इशानेश्वर, भोर्लेटार, बाँग्रे र नेटा, सुन्दरबजार नगरपालिका अन्तर्गत धुसेनी र सिन्दुरे, र बेसीसहर नगरपालिका अन्तर्गत नाल्मा र पुरानकोट गाविसका उपभोक्तालाई विद्युत सेवा दिँदै आएको थियो । क्होलासोँथारमा भने छुट्टै सामुदायिक विद्युत वितरण संस्था रहेको थियो । कारोबार दैनिकबाट