नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सरावल गाउँपालिकामा दङ्गिया–पेटबन्हिया सिँचाइ आयोजनाको निर्माण गर्न शुरु गरिएको छ । सात सय बिघाभन्दा बढी जमिनमा सिँचाइ सुविधा पुर्याउने गरी दङ्गिया–पेटबन्हिया सिँचाइ आयोजनाको निर्माण शुरु गरिएको हो ।
सिँचाइका लागि आकाशे पानी तथा बोरिङको भर पर्दै आएका उक्त क्षेत्रका कृषक आयोजना निर्माण शुरु भएपछि हर्षित छन् ।
लुम्बिनी प्रदेश सरकारले बीस करोड २३ लाख ३७ हजार लागत अनुमान गरी बजेट विनियोजन गरेको उक्त सिँचाइ आयोजनाले सरावल गाउँपालिका–१ र २ का आठ सयभन्दा बढी कृषक प्रत्यक्ष लाभावन्ति हुने अपेक्षा गरिएको छ ।
सरावल–१ मा आयोजनाको शिलान्यास गर्दै प्रदेशसभा सदस्य बैजनाथ चौधरीले यस सिँचाइ आयोजनाबाट कृृषकलाई ठूलो लाभ हुने विश्वास व्यक्त गरेका छन् । उनले यस आयोजनाबाट कृषि उत्पादन वृद्धि हुने र कृषिको आधुनिकीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
२०७९ साल चैत मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको यो सिँचाइ आयोजना करिब ६ किलोमिटरको रहने प्रदेशको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, जलस्रोत तथा सिँचाइ महाशाखाका प्रमुख धु्रवराज पौडेलले जानकारी दिए । आयोजना निर्माण सम्पन्न गर्न तीन खण्डमा विभाजन गरी छुट्टाछुट्टै ठेक्कामार्फत तीनवटा निर्माण कम्पनीलाई जिम्मा दिइएको उनले जानकारी दिए ।