ताप्लेजुङ । ताप्लेजुङको दुर्गम हिमाली बस्ती किलिङमा बल्ल बिजुली बत्ती बलेको छ । मिक्वाखोला गाउँपालिका–५ पापुङमा रहेको घट्टेखोला लघु जलविद्युत् आयोजना सम्पन्न भएसँगै पहिलो पटक किलिङ गाउँमा बिजुली बत्ती बलेको हो ।
यस गाउँ जिल्लाको निकै नै दुर्गम मानिन्छ । स्थानीयवासीको सक्रियतामा १५ किलोवाट क्षमताको लघुजलविद्युत् आयोजना सम्पन्न भएको उनले जाकारी दिए । पापुङका वडाध्यक्ष डण्डु लामाले आयोजनाबाट गाउँका ७५ घरधुरी लाभान्वित भएको बताएका छन्।
हिमाली क्षेत्रका साथै ओसिलो भूभाग भएका कारण सौर्य ऊर्जा प्रभावकारी नहुँदा हालसम्म टुकी बत्तीको उज्यालोमा निर्भर रहँदै आएका थिए । आयोजना निर्माण भएपछि त्यहाँ रहेका नेपाली कागज उद्योग सञ्चालनमा पनि सहज भएको बताइएको छ । त्यस्तै विगतदेखि नै कुटानी–पिसानी मिल सञ्चालन गर्ने सोचमा रहेका किलिङवासीको सपना पनि पूरा हुने भएको छ ।