काठमाडौं। सडक निर्माणको काम नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्न निर्देशन दिइएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हुलाकी राजमार्गअन्तर्गत बेतौना–विराटनगर सडक खण्डको काम नगर्ने निर्माण कम्पनीलाई कारबाही अघि बढाउन निर्देशन दिएका हुन्।
मन्त्री ज्वालाले सडक विभाग र इटहरी कार्यालयका आयोजना प्रमुखलाई टेलिफोन गरी तत्काल निर्माण कम्पनीलाई कारबाही गर्न निर्देशन दिएका छन्।
बेतौनादेखि विराटनगरसम्मको झन्डै १८ किलोमिटर सडक निर्माणका लागि सञ्चालित दुई ठेक्काको निर्माण एक महिनादेखि ठप्प छ। निर्माण रोकिएपछि इटहरी कार्यालयले निर्माण व्यवसायीलाई लिखित पत्राचार गरिसकेको छ। निर्माण सम्पन्न गर्ने गरी तत्काल काम अघि नबढाए निर्माण व्यवसायीलाई सार्वजनिक खरिद ऐन, नियमावली तथा ठेक्का सम्झौताका सर्तबमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउने आयोजनाले जनाएको छ ।
हुलाकी राजमार्गको सो खण्डको निर्माण रोकिएको विषयमा विगतदेखि नै जनप्रतिनिधिले चासो देखाउँदै आएका छन्। अहिले निर्माण कम्पनीले काम ठप्प गरेपछि सङ्घीय सांसद, प्रदेशसभा सदस्य र पाँच स्थानीय तहका जनप्रतिनिधिले शुक्रबार पत्रकार सम्मेलन गरेका थिए ।