काठमाडौं। नारायणगढ–मुग्लिन सडकका पहाड दशैं–तिहारपछि मात्रै फुटाइने भएको छ। मनसुन सुरु भइसकेका कारण अहिले चट्टान विस्फोट गराउन प्राविधिक रूपमा नसकिने भएकाले दशैंतिहारपछि मात्र विस्फोट गराइने भएको हो।
पहाड फोर्नका लागि सानो प्वाल खोलेर बारुद राख्नुपर्ने काम वर्षात् सुरु हुन लागेका कारण सम्भव नहुने नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ।
विस्फोट गर्न बारुदको अभावमा पहाड फोर्न नसक्दा नारायणगढ–मुग्लिन सडक आयोजनाको तुइनखोलामाथिको पुल निर्माण कार्य लामो समयदेखि रोकिएको छ। पुलसँगै रहेको पहाड काट्न विस्फोट नै गर्नुपर्ने हुन्छ। बारुद खरिद प्रक्रियामा ढिलाइ हुँदा समस्या भएको हो। बारुद खरिदको अनुमतिका लागि नेपाल सरकारले भारतीय दूतावासमा फाइल पठाएको थियो। दूतावासबाट ‘नो अब्जेक्सन लेटर’ अझैसम्म प्राप्त हुन सकेको छैन।
कुनै पनि आयोजनामा विस्फोट गराउनुपर्दा आयोजनाको स्थानीय जिल्लास्थित सुरक्षा समितिको सिफारिसमा गृह र रक्षा मन्त्रालयको स्वीकृतिले परराष्ट्र मन्त्रालयमार्फत भारतीय दूतावासको ‘नो अब्जेक्सन लेटर’ लिएपछि मात्रै आयात गर्न पाउने कानुनी व्यवस्था छ। भारतबाट आयात गरिने बारुदका लागि नेपाली सेनाले भण्डारण र विस्फोट गराउने व्यवस्था मिलाउनेछ। यसका लागि नेपाली सेनासँग लिखित सम्झौता गर्न बाँकी छ।
तुइनखोलासँगै रहेको ११ मिटर अग्लो र ४० मिटर चौडाइको चट्टान फुटाउन आयोजनाले १५ मेट्रिकटन बारुद खरिद प्रक्रिया अगाडि बढाएको छ। विश्व बैङ्कको एक अर्ब २७ करोड पाँच लाख रुपियाँ आर्थिक सहयोगमा नारायणगढ–मुग्लिन सडक आयोजनामा अहिले १५ वटा पुल निर्माणको काम भइरहेको छ। २०७६ चैत १० गते ठेक्का सम्झौता भई निर्माण कार्य सुरु भएका ती पुलमध्ये अहिलेसम्म ११ वटाको निर्माण सम्पन्न भई हस्तान्तरणको तयारीमा छ भने तुइनखोलासहित चिसेन्जी, काली, सिमलताल र नाम्चेखोलामाथिका पुल निर्माणकै क्रममा रहेको छ।