सोलुखुम्बु। खुम्बु क्षेत्र जोड्ने सडक कालोपत्रेको काम सल्लेरी जिरो प्वइन्टबाट सुरु गर्ने सहमति भएको छ। सोलु दूधकुण्ड नगरपालिका र माप्यदूधकोशी गाउँपालिकाबीचमा निर्वाचन क्षेत्र रणनीतिक सडकको कालोपत्रे सल्लेरीबाटै सुरु गर्ने सहमति भएको हो।
यी दुवै पालिकाका निर्वाचित जनप्रतिनिधिबीच सदरमुकाम सल्लेरीमा द्विपक्षीय बैठक बसेर सल्लेरीबाट कालोपत्रेको काम सुरु गर्ने निर्णय भएको हो।
सडक डिभिजन कार्यालय हर्कपुरअन्तर्गत ठेक्का लागेको उक्त सडक निर्माणका लागि सल्लेरीबाट नभई माप्यदूधकोशीको सिमाना काँकुस्थित सेलगुडीडाँडाबाट गर्नेगरी कार्यालयले तयारी गरेको थियो । जिरो प्वइन्टबाट कालोपत्रे काम सुरु गर्दा ७ किलोमिटर सडक कच्ची नै हुनुका साथै व्यावहारिक नहुने भन्दै सल्लेरीबाटै कालोपत्रे गर्न नगरपालिकाले पहल गर्दै आएको थियो । आइतबार मेयर शेर्पासहित नगरपालिकाका वडाध्यक्षहरू र माप्यदूधकोशी गाउँपालिकाका उपाध्यक्ष गौरव राईसहित वडाध्यक्षहरूको संयुक्त उपस्थितिमा भएको बैठकले नगरपालिकाको वडा नम्बर ४ स्थित सेर्गाबाटै पिचको काम गर्न संयुक्त रुपमा अनुरोध गर्ने निर्णय गरिएको हो ।
सल्लेरी–माप्यदुधकोशी हुँदै खुम्बु पासाङह्लामु गाउँपालिका जोड्ने सडक कालोपत्रेका लागि ६० करोड रुपैयाँ बराबरको टेन्डर आह्वान गरिएको छ ।