स्याङ्जा। सिद्धार्थ राजमार्ग, हेलुबाट अर्जुनचौपारी हुँदै पर्वत जोड्ने सडक कालोपत्र हुने भएको छ। ठेक्का सम्झौताको तीन वर्षपछि निर्माण कम्पनीले ठेक्का प्रक्रिया अघि बढाएको हो।
निर्माण कम्पनी गोल्डेन गुड बानियाँ जेभी र पूर्वाधार विकास कार्यालय, स्याङ्जाबीच २०७६ पुस १६ गते तीन वर्षमा काम सक्ने गरी सम्झौता भएको थियो। निर्माण कम्पनीले एक वर्ष म्याद थपेर आगामी असार ३० गते सक्ने गरी सडक कालोपत्रे अगाडि बढाएको पूर्वाधार विकास कार्यालय, स्याङ्जाले जनाएको छ।
साढे छ किलोमिटर लम्बाइ र नालासहित साढे सात मिटर चौडा सडक कालोपत्रे गर्ने गरी ११ करोड ९७ हजार ९२५ रुपैयाँमा सडक निर्माण गरिने छ।
हेलु–अर्जुनचौपारी सडक कालोपत्रे भएसँगै अर्जुनचौपारी गाउँपालिकामा समेत पहिलो पटक कालोपत्रे सडकले छोएपछि पालिकाबाट जिल्ला सदरमुकाम, पोखरा र बुटवल जाने अर्जुनचौपारी र पर्वतका नागरिकलाई प्रत्यक्ष फाइदा पुग्ने छ।