म्याग्दी। म्याग्दीको बेगखोलामा निर्माणाधीन मोटरेबल पुलको काम तीव्र गतिमा अगाडि बढिरहेको छ। राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी कोरिडोर बेनी–जोमसोम कोरला सडकअन्तर्गत म्याग्दीको बेगखोलामा निर्माणाधीन पुलको काम हालसम्म ८५ प्रतिशत पूरा भएको हो।
पुलको एउटा स्ल्याप ढलान भइसकेको र अर्कोको एक हप्ताभित्र ढलान गर्नेगरी तयारी गरिएको छ । पुलको ढलान सकिएपछि बाँकी रहेको वारिपारिको सडक बनाउने, ग्यावियन झाली लगाउने र फिनिसिङ गर्ने काम असोजभित्र सकिने बताइएको छ।
आगामी २०८० चैत २८ गतेभित्र योजना सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भएता पनि सम्झौता अगावै पुल निर्माण गर्नेगरी काम भइरहेको छ।
सडक विभागअन्तर्गत रहेको पुल महाशाखा काठमाडौंले रघुगंगा गाउँपालिका–१ बेगखोलामा ७० मिटर लामो र ११ मिटर चौडाइ भएको डबल स्पामको पुल निर्माणका लागि बीओकेआईरहिमालयन जेभीलेसँग भ्याटसहित आठ करोड ३० लाख रुपैयाँमा २०७८ असार २९ गते ठेक्का सम्झौता गरेको थियो ।