काठमाडौं। गुलरिया र बर्दिया नगरपालिका जोड्ने जब्दीघाटमा नयाँ पुल निर्माण गरिने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरेर जब्दीघाटमा भासिएको भन्दा करिब ५०० मिटरमाथि अर्को नयाँ पुल बनाउने जानकारी दिएको हो।
जब्दीघाट पुल २०७३/७४ सक्ने गरी २०६७/६८ मा ठेक्का लागेको थियो। पप्पु कन्स्ट्रक्सनले निर्माणको ठेक्का १६ करोड ६८ लाखमा ठेक्का पाएको यो पुल निर्माणपछि हस्तान्तरण नहुँदै भासिएको थियो।
त्यसपछि आयोजना र निर्माण कम्पनीबीच आरोप प्रत्यारोप चल्यो। सडक विभागले पुल्चोक इन्जिनियरिङ मार्फत अध्ययन गरायो। जसमा पाइलमा कंक्रिटको ठाउँमा माटो भेट्यो। त्यसपछि ठेक्का तोडेर बाँकी निर्माणका लागि समेत दाबी गरेको थियो।
विभागको सो निर्णयपछि निर्माण कम्पनी अदालत गएको छ। अहिले भाचिएको पुलले नदी वहाब छेकेर गाउँ नै डुबान पर्ने भन्दै सो भाग हटाउने काम चलिरहेको छ।
सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल नेतृत्वको टोलीले स्थानीय सरोकारवाला निकायहरुसँग छलफल गरेको थियो। छलफलमा भास्सिएको पुलको आसपास इन्जिनियरिङ रुपले सम्भव हुने ठाउँमा पुल निर्माणका लागि सहमत भएका हुन्।