काठमाडौं। सरकारले हुम्लाको सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा जोड्ने घोषणा गरेको छ। सरकारको तर्फबाट शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०र०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वर्ष हुम्ला जिल्ला सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालमा जोडिने घोषणा गरेका हुन्।
त्यसैगरी निर्माणाधीन काठमाडौँ–तराईरमधेश द्रुतमार्ग सडक आयोजनाको निर्माण कार्य २०८३ भित्र सम्पन्न गरिने भएको छ।
पूर्वाधार निर्माणमा दुई सिफ्टमा काम हुने व्यवस्था मिलाइने, निर्माणाधीन राष्ट्रिय राजमार्ग र रणनीतिक सडकहरू पाँच वर्षभित्रै सम्पन्न गरिने, पूर्व–पश्चिम राजमार्गलाई स्तरोन्नति गर्ने कार्यलाई निरन्तरता दिइने तथा रणनीतिक तथा व्यापारिक महत्वका सडक खण्डहरूको निर्माण तथा स्तरोन्नति गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
आगामी तीन वर्षभित्र सङ्घ, प्रदेश र स्थानीय तहको सहकार्यमा सबै स्थानीय तहको केन्द्रलाई सम्बन्धित प्रदेशको केन्द्र वा नजिकको राष्ट्रिय राजमार्गसँग पक्की सडकले जोडिने घोषणा गर्दै उनले आगामी तीन वर्षभित्र बढीमा एक घण्टा हिँडाइको दूरीमा एक झोलुङ्गे पुल निर्माण गरिने बताए। बाढीपहिरोले क्षतिग्रस्त राजमार्गको पुनः स्थापना र स्तरोन्नति गर्ने कार्यलाई विशेष प्राथमिकता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।